होम साउद, अछामः

नयाँ यात्रा, नयाँ उत्साह र मनभरि अनेकौँ कौतुहलतासहित २०८३ साल साउन १७ गते मंगलसेनबाट हाम्रो आध्यात्मिक यात्रा प्रारम्भ भयो। बाहिरी रूपमा हेर्दा यो नेपालबाट भारतको राजस्थानस्थित माउन्ट आबुको मधुवनसम्म पुग्ने यात्रा थियो; तर भित्री रूपमा भने यो स्वयंलाई चिन्ने, मनलाई बुझ्ने र जीवनलाई अझ सकारात्मक ढंगले हेर्न सिक्ने एउटा अनुपम यात्राको सुरुवात थियो।
बिहान हाईसमा चढेर मंगलसेनबाट निस्किएका हामी साँझ धनगढी पुग्यौँ। भोलिपल्ट, साउन १८ गते बिहान धनगढीस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ॐ शान्ति भवनमा परिचयात्मक तथा शुभयात्रा कार्यक्रम सम्पन्न भयो। अछामसँगै डोटी र कैलालीका सहभागीहरू पनि यात्रामा जोडिए। त्यसपछि महेन्द्रनगर हुँदै गड्डाचौकीतर्फ लाग्यौँ। हाम्रो गन्तव्य थियो – भारतको राजस्थानस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको मुख्यालय तथा आध्यात्मिक केन्द्र मधुवन।
हामीमध्ये अधिकांश पहिलोपटक मधुवन जाँदै थियौँ। जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती बम शाही सहित मानबहादुर बुढा, गणेशप्रसाद ढुंगाना, होमबहादुर साउद, दिपेन्द्र शाही र प्रेमकला बुढा गरी हामी छ जना थियौँ। हामीलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र अछामकी सञ्चालिका कबिता दिदीले नेतृत्व गरिरहनुभएको थियो भने समग्र टोलीको नेतृत्व दिपायल शाखाकी सञ्चालिका जानकी दिदीले गर्नुभएको थियो।
शारदा ब्यारेज अर्थात् महाकाली पुलको गेट बन्द भएका कारण करिब दुई घण्टा प्रतीक्षा गर्नुपर्यो। त्यसपछि बनबासा रेलवे स्टेसन पुग्यौँ। दिउँसो २:२० मा त्यहाँ पुगेका हामी ३:५१ बजे टनकपुरबाट आएको रेल चढेर बरेलीतर्फ लाग्यौँ।
करिब तीन घण्टा ४० मिनेटको लोकल रेलयात्रा आफैँमा एउटा नयाँ अनुभव बन्यो। भारतको उत्तर प्रदेशका ग्रामीण बस्ती, खेतबारी, सहर तथा पिलिभितीलगायत क्षेत्र रेलको झ्यालबाट नियाल्दै साँझ ७:३० बजे बरेली सिटी स्टेसन पुग्यौँ। त्यस रात होटल कार्टनमा विश्राम गरियो।
साउन १९ गते बिहानै बरेली सिटी रेलवे जक्सन पुग्यौँ। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले त्यहाँबाट हाम्रो रेल टिकटको व्यवस्था गरेको थियो। बिहान ६:३५ बजे रेल चढेपछि भारतको विशाल भूगोलसँग हाम्रो प्रत्यक्ष साक्षात्कार निरन्तर चलिरह्यो।
करिब १२ बजे दिल्ली जक्सन पुग्दा रेलमै अर्डर गरिएको खाना केही मिनेटमै सिटसम्म आइपुग्यो। खाना खाँदै, कहिले सिटबाट बाहिर हेर्दै र कहिले सहयात्रीसँग कुराकानी गर्दै यात्रा अघि बढ्यो। दिनभर रेलको झ्यालबाट देखिएका भारतका ग्रामीण तथा सहरी दृश्यहरूले यात्रालाई थप रोचक बनाइरहे।
साँझ ६ बजे जयपुर रेलवे स्टेसन पुग्यौँ। जयपुर राजस्थानको राजधानी हुनुका साथै ‘गुलाबी सहर’का रूपमा प्रसिद्ध रहेको जानकारी अछाम क्याम्पसका सहायक प्रमुख मानबहादुर बुढा सरबाट पाइयो। ठूला स्टेसनमा करिब १० मिनेट र साना स्टेसनमा दुई–चार मिनेट रोकिँदै अघि बढिरहेको अल हजरत एक्सप्रेसले अन्ततः साउन २० गते राति करिब १२:३० बजे हाम्रो निर्धारित गन्तव्य आबु रोड जक्सन पुर्यायो।
मंगलसेनबाट सुरु भएको लामो यात्रा पार गर्दै सकुशल निर्धारित स्थानमा पुग्दा मनमा छुट्टै खुसी र उत्साह थियो। हामी प्रतीक्षालयसम्म पुग्न नपाउँदै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका बसहरू हामीलाई लिन आइपुगेका रहेछन्। यात्रुहरूको सहजताका लागि विश्वविद्यालयले आबु रोड क्षेत्रमा नै एउटा निश्चित स्थान व्यवस्थित गरेको रहेछ। सुरक्षा गार्डदेखि अन्य आवश्यक सुविधासम्मको व्यवस्थापन देख्दा संस्थाप्रतिको सम्मान अझ बढेर गयो। केहीबेरमै संस्थाको बसमा चढ्यौँ। राति १:१० बजे मधुवनस्थित मनमोहिनीवनको आवासस्थल ब्रह्मालोक पुगेर विश्राम गरियो।
मधुवनमा पहिलो बिहान
साउन २१ गते बिहानको सुरुवात नै आध्यात्मिक वातावरणबाट भयो। बिहान खाजा खाएर ९ बजे मेडिटेसन कक्षामा सहभागी भयौँ। त्यसपछि फिल्म हलमा ब्रह्माबाबाको जीवनमा आधारित चलचित्र हेरियो। राजयोग शिविरमा सहभागी हुन पुगेका हामीले चलचित्रमार्फत ब्रह्माबाबाको इतिहास, संघर्ष र आध्यात्मिक शक्तिबारे विस्तृत जानकारी पायौँ।
बिहान ११ बजेपछि जानकी दिदीको नेतृत्वमा आनन्द सरोवर क्षेत्रको भ्रमण गरियो। सुन्दर भवन, व्यवस्थित बगैँचा र शान्त वातावरणले मन आकर्षित गरिरह्यो। केही समय फोटो खिच्दै र परिसर अवलोकन गर्दै बिताएपछि खाना खाएर बजारतर्फ लाग्यौँ। मधुवन क्षेत्रबाट माथिपट्टी देखिन सुन्दर ढुंगाका बिशाल शिलाहरू, घना जङ्गल र शान्त वातावरणले जो कोहिलाई पनि मन्त्रमुग्ध बनाईरहने। हामी पनि यस्तै परिवेशमा रोमाञ्चित र उत्सुक हुदै सबै क्षेत्र अवलोकन गरिरह्यौं । हाम्रो टोलिमा मधुवन क्षेत्रमा निर्मित विशाल आवासिय संरचनाहरू, पार्क, ध्याँन केन्द्रहरू, बाबाका कमरा (कोठा) र भोजन व्यवस्थापन, पुस्तकालय, संग्रहालय लगायत विविध संरचनाका विषयमा बेलाल बेलामा कुराकानी भईरहन्थ्यो। जानकारहरूका अनुसार यहाँ जे जति विकास र व्यवस्थापन भएको छ यो सबै ब्रह्माबाबाको शक्तिको उपज हो। परमपिता परमात्मा शिव बाबाले सोचेको पुर्याँनुहुन्छ भन्ने विश्वास छ यहाँ।
साँझ राजयोगसम्बन्धी विशेष कक्षामा सहभागी भयौँ। कार्यक्रमको मुख्य विषय थियो – तनावमुक्त जीवन एवं आत्मिक सशक्तीकरण। यही अवसरमा राजयोग शिविरको उद्घाटन सत्रसमेत सम्पन्न भयो। वरिष्ठ राजयोग शिक्षिका राजयोगिनी प्रविना दिदीले स्वागत तथा परिचय गराउनुभयो। करिब सात–आठ सय सहभागी रहेको हलमा नेपालबाट न्यायाधीश नातिबाबु लामिछानेसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको इतिहास र विश्वव्यापी विस्तारबारे जानकारी दिइयो। सन् १९३६ मा हैदराबादबाट प्रारम्भ भएको संस्थाका गतिविधि अहिले भारतबाहेक करिब १४० देशसम्म फैलिएको जानकारीले संस्थाको व्यापकता बुझ्ने अवसर दियो।
राजयोगसम्बन्धी विशेष प्रवचनमा आत्मालाई परमात्मासँग जोड्ने र मिलन गराउने अभ्यासलाई राजयोगका रूपमा व्याख्या गरियो। शान्ति, खुसी, आनन्द र सन्तुष्टिका लागि राजयोग महत्वपूर्ण रहेको सन्देश पाइयो। “परमात्मा हाम्रा लागि सधैँ उपस्थित हुनुहुन्छ; आवश्यकता केवल मनदेखि उहाँलाई सम्झने हो” भन्ने भावले सहभागीहरूलाई बाहिरी संसारबाट केही क्षण अलग भएर आफ्नै अन्तरमनतर्फ फर्किन प्रेरित गर्यो।
आत्मचिन्तन र सकारात्मक सोच
अर्को बिहान निर्धारित हलमा बिहान ४:१५ बजे नै पुगेर ध्यानमा सहभागी भयौँ। बिहान ६:४५ बजे वरिष्ठ राजयोग शिक्षिका ब्रह्माकुमारी चन्द्रा दिदीले स्वयंलाई जान्ने, पहिचान गर्ने, मान्ने र त्यसअनुसार चल्ने विषयमा प्रशिक्षण दिनुभयो।
शरीर र आत्माबीचको अन्तर बुझाउँदै आत्मालाई चालक र शरीरलाई गाडीसँग तुलना गरियो। आत्मालाई जीवन – ऊर्जा र प्रकाशका रूपमा व्याख्या गर्दै मन, बुद्धि र संस्कारलाई आत्माका प्रमुख शक्तिका रूपमा प्रस्तुत गरियो। मनले विचार गर्छ, बुद्धिले निर्णय गर्छ र संस्कारले हाम्रो बानी तथा व्यवहार निर्माण गर्छ, यो सरल व्याख्याले आत्मचेतनाको अवधारणालाई सहज बनायो।
आत्माका सात प्रमुख गुण-ज्ञान, पवित्रता, शान्ति, सुख, प्रेम, शक्ति र आनन्द-बारे पनि चर्चा भयो।
बिहान १० बजे ईभी गिरिश भाइले ‘सकारात्मक चिन्तनद्वारा तनावमुक्त जीवनशैली’ विषयमा ऊर्जामूलक कक्षा सञ्चालन गर्नुभयो। मुस्कानलाई सकारात्मक सोचको सरल अभिव्यक्तिका रूपमा प्रस्तुत गर्दै उहाँले तनावमुक्त जीवनका विभिन्न सूत्र बताउनुभयो।
त्यसपछि डा. सविता दिदीले ‘स्वयंको पहिचान र स्वीकार’ विषयमा प्रशिक्षण दिनुभयो। साँझ ईभी सुरज भाइले ‘सम्बन्धमा मिठोपना’ विषयमा बोल्दै आफूले अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छौँ, अरूप्रति पनि त्यस्तै व्यवहार गर्नुपर्ने सन्देश दिनुभयो। त्यसपछि ब्रह्माकुमारी कविता दिदीबाट राजयोगका आधार, विधि र अनुभूतिबारे प्रशिक्षण प्राप्त भयो।
शान्तिवनका स्मृतिस्थल र जीवनका सूत्र
साउन २२ गते बिहान ५ बजेदेखि ५:४५ बजेसम्म राजयोग ध्यानमा सहभागी भयौँ। त्यसपछि कविता दिदीको नेतृत्वमा शान्तिवनभित्र रहेका विभिन्न शान्ति स्तम्भ, तपस्या धाम पार्कलगायत महत्वपूर्ण स्थानहरूको अवलोकन गरियो।
ब्रह्माबाबाको तनमा परमात्मा अवतरित भएको विश्वास, प्रथम ब्रह्माकुमारी जगदम्बा, प्रथम प्रशासिका प्रकाशमणि दादी, गुल्जार दादी स्तम्भ, जानकी दादी स्तम्भ र बाबाको कोठाजस्ता स्थानले संस्थाको इतिहाससँग भावनात्मक रूपमा जोडिने अवसर दिए।
विशेषगरी गुल्जार दादी स्तम्भसँग जोडिएका आध्यात्मिक प्रसंग र बाबाको कोठाले सहभागीहरूमा गहिरो भावनात्मक प्रभाव पारे। भोलानाथको भण्डाराका विभिन्न विभागको अवलोकनले यति ठूलो आध्यात्मिक संस्थाभित्र सेवा, व्यवस्थापन र अनुशासन कसरी सञ्चालन हुँदो रहेछ भन्ने बुझ्ने अवसरसमेत दियो।
बेलुकाको कक्षामा राजयोग शिक्षिका कृष्णा दिदीले ‘राजयोगद्वारा आध्यात्मिक सशक्तीकरण’ विषयमा सहनशीलताको महत्त्वमाथि जोड दिनुभयो। सुनेका वा अरूले सुनाएका सबै कुरा मनमा बोकेर हिँड्नुको सट्टा सकारात्मकता कायम राख्नुपर्ने, एकाग्रताले व्यक्तिको गुण पहिचान गराउने र प्रत्येक क्षण सकारात्मक सोच राख्दा नयाँ बाटो पहिचान गर्न सकिने उहाँको भनाइ थियो।
“उत्कृष्ट कर्म गर्दै जाँदा उत्कृष्ट भाग्य निर्माण हुन्छ।” यो वाक्यले कर्म र भाग्यबीचको सम्बन्धलाई सरल ढंगले प्रस्ट्यायो। जीवनको मूल्य बढाउन अरूलाई दोष दिनुभन्दा पहिले आफूलाई नै गुणहरूले भरिपूर्ण बनाउनुपर्ने शिक्षा महत्वपूर्ण उपलब्धि बन्यो।
वरिष्ठ राजयोग शिक्षिका राधा दिदीले परमात्माका दिव्य कर्तव्य एवं सन्तुष्टिचक्रको ज्ञान विषयमा प्रवचन दिनुभयो। शरीर नाशवान भए पनि आत्मा अविनाशी रहेको बताउँदै कम बोल्ने, मिठो बोल्ने, राम्रो बोल्ने र सोचेर बोल्ने संस्कार विकास गर्न प्रेरित गरियो।
कक्षाका क्रममा प्रस्तुत गरिएको “हामीले आफूलाई परिवर्तन गरौँ, दुनिया आफैँ बदलिन्छ।” यो सामान्य वाक्यजस्तो लागे पनि यसको अर्थ गहिरो थियो। संसार बदल्ने चाहना राख्ने मानिसले पहिले आफ्नो सोच, व्यवहार र संस्कार बदल्नुपर्छ। जीवनलाई कमलको फूलजस्तै निर्मल बनाउँदै काम, क्रोध, लोभ, मोह र अहंकारबाट टाढा रहनुपर्ने सन्देशले आत्मअनुशासनको महत्त्व सम्झायो।
राजयोगी आत्मप्रकाशजीले ‘कल्पवृक्ष – धर्मको इतिहास’ विषयमा बोल्दै राजयोगलाई सबै योगको राजा बताउनुभयो। उहाँका अनुसार राजयोगले आत्मारूपी ब्याट्रीलाई पुनःऊर्जावान बनाउँछ र सकारात्मक संकल्पले जीवनमा सकारात्मक प्रभाव पार्छ। जीवनमा आफ्ना शब्द, काम, संकल्प, शीतलता/चरित्र र खुसीपनको निरन्तर निगरानी गर्नुपर्ने भावलाई दैनिक जीवनमा आत्मनिरीक्षणको सरल सूत्रका रूपमा ग्रहण गर्न सकिने ज्ञान प्राप्त भयो।
आध्यात्मिकता र वातावरणीय चेतना
आध्यात्मिकता केवल ध्यान र प्रवचनमा सीमित हुँदैन; त्यसको प्रभाव व्यवहार, सेवा र प्रकृतिप्रतिको जिम्मेवारीमा पनि देखिनुपर्छ भन्ने अनुभूति मधुवनका विभिन्न परियोजनाको अवलोकनबाट भयो। टोलीले आरएन पार्क तथा सोलार प्लान्ट क्षेत्रको भ्रमण गर्यो। जानकी दिदी र कविता दिदीसहित अछाम, डोटी तथा कैलालीका सहभागीहरूले विभिन्न सेवा तथा वातावरणीय परियोजनाको अवलोकन गरे।
इन्डिया वन सोलार थर्मल प्लान्ट, अग्नि अनुसन्धान केन्द्र, सोलार पावर प्लान्ट, ब्रह्माकुमारी क्लिन पार्क, फोहोर व्यवस्थापन परियोजना, गौशाला, मानसरोवर क्षेत्र, गुलसन भवनको छतमा निर्माण गरिएको पार्क तथा तपोवनको योगी खेतीजस्ता स्थानले आध्यात्मिकता र आत्मनिर्भरतालाई व्यवहारसँग जोडेको देखाए।
विशेषगरी सोलार थर्मल प्लान्टले १ मेगावाट विद्युत् उत्पादन गरी मधुवन क्षेत्रको विद्युत् आपूर्तिका साथै दैनिक दसौँ हजार जनालाई खाना पकाउनेलगायत विभिन्न उपयोगी कार्यमा प्रयोग गरिएको जानकारी पाइयो। फोहोर व्यवस्थापनको अभ्यास पनि उल्लेखनीय थियो। कुहिने फोहोरबाट दैनिक करिब ३–४ घनमिटर बायोग्यास उत्पादन हुने र नकुहिने फोहोरबाट पुनःप्रयोग गर्न मिल्ने सामग्री छुट्याउने प्रणालीले वातावरण संरक्षण तथा आत्मनिर्भर सेवाको उदाहरण प्रस्तुत गरेको थियो।
तपोवनमा करिब १०० एकड क्षेत्रमा जैविक मल प्रयोग गरी कृषि तथा तरकारी खेती भइरहेको क्षेत्रको अवलोकन गर्दा त्यहाँको आकर्षणले मन तान्यो। कुनै पनि विषादी प्रयोग नगरी गरिने जैविक अर्थात् ‘योगी’ खेती प्रणालीबाट खाद्यान्न तथा तरकारी उत्पादन भइरहेको देख्दा प्रभावित भयौँ। ठूलो क्षेत्र भएकाले बग्गीमार्फत कृषि क्षेत्रको अवलोकन गरियो। यसले सेवा, साधना र प्रकृतिसँगको सहअस्तित्वलाई व्यवहारमै उतार्न सकिने प्रेरणा दियो।
ब्रह्माबाबाको जीवन र स्वपरिवर्तनको सन्देश
साउन २३ गते ध्यान शिविरपछि राजयोगी ललित भाइले ‘स्वपरिवर्तनका सर्वोत्तम उदाहरण’ विषयमा ब्रह्माबाबाको जीवनबारे जानकारी दिनुभयो।
सिन्धको हैदराबादमा जन्मिएका लेखराज कृपलानीले आध्यात्मिक ज्ञान प्राप्त गरेपछि हिराको व्यापार त्यागेर आफूलाई आध्यात्मिक साधनामा समर्पित गरेको प्रसंग सुनाइयो। केही माता तथा बहिनीहरूको ॐ मण्डली निर्माण गरी आफ्नो सम्पत्तिसमेत हस्तान्तरण गरेका लेखराजले कराँचीमा लामो समय तपस्या गर्नुभयो र त्यसपछि माउन्ट आबुमा आध्यात्मिक गतिविधिको विस्तार भएको इतिहास प्रस्तुत गरियो।
उहाँलाई अनुयायीहरूले बाबा वा ब्रह्माबाबाका रूपमा सम्बोधन गर्ने गर्छन् भने उहाँपछिका सञ्चालिका वा प्रमुख व्यक्तिहरूलाई दिदी वा दादी भनेर सम्बोधन गर्ने गरिन्छ। बाबा लेखराजलाई प्राप्त अदृश्य निराकार शक्तिकै कारण हालको मधुवन र माउन्ट आबु क्षेत्रको विकास तथा कायापलट सम्भव भएको ब्रह्माकुमारीहरूको विश्वास छ।
सन् १९५० मा माउन्ट आबुमा यज्ञ स्थापना भएको र १८ जनवरी १९६९ मा ९३ वर्षको उमेरमा ब्रह्माबाबाले देहत्याग गरेको जानकारीले उहाँको जीवनयात्रालाई थप नजिकबाट बुझ्ने अवसर दियो।
माउन्ट आबुतर्फ
बिहान ९:२० बजे बसमार्फत करिब २७ किलोमिटर उकालो यात्रा गर्दै माउन्ट आबुतर्फ लाग्यौँ। बिहान १०:४० बजे ज्ञान सरोवर पुगेर चित्र संग्रहालय तथा पार्कको अवलोकन गरियो।
चित्र पार्कमा स्वर्णिम रङमा निर्मित विभिन्न कालखण्डका वातावरण र परिवेश समेटिएका देवी–देवता तथा राक्षसका चित्रहरूले सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुग र संगमयुगको अवधारणा झल्काइरहेका थिए।
त्यहाँ रहेको ग्लोबल हस्पिटल तथा ब्रह्माकुमारी दिदीहरूका लागि निःशुल्क उपचारको व्यवस्थाबारे पनि जानकारी पाइयो। प्रकृति, सेवा र आध्यात्मिकतालाई एउटै परिवेशमा अनुभूत गर्न पाउनु आफैँमा विशेष अनुभव थियो।
झट्ट हेर्दा फेवातालजस्तै देखिने माउन्ट आबुको नक्की झिल पर्यटकहरूको आकर्षणको प्रमुख केन्द्र रहेछ। यहाँ डुंगा सयरसँगै स्थानीय व्यापार पनि फस्टाएको देखियो। स्थानीय युवाहरू मौलिक पोसाकमा पर्यटकको तस्बिर खिचेर आम्दानी गरिरहेका थिए भने कतिपयले राजस्थानी घोडा सयर गराउँदै आम्दानी गरिरहेका थिए।
मलाई यस तालबारे उत्सुकता लाग्यो र सँगै रहनुभएकी जानकी दिदीलाई सोधिहालेँ – “यसको पानी कहाँबाट आउँछ र निकास कहाँबाट छ?”
उहाँले चाखलाग्दो जवाफ दिनुभयो – “माउन्ट आबु क्षेत्रका जति पनि खोल्सा छन्, ती सबैको पानी जम्मा हुने ठाउँ यही हो। पानी तालमै रहन्छ, कतै जाँदैन।”
माउन्ट आबु क्षेत्रका खोल्साखोल्सीको पानी संकलन गरी प्राकृतिक जलाशयका रूपमा भूमिका निर्वाह गर्ने यो ताल यस क्षेत्रको पर्यटन आकर्षणको महत्वपूर्ण केन्द्र रहेछ।
पाण्डव भवन र दिलवाडा जैन मन्दिर
माउन्ट आबुको युनिभर्सल हल र पाण्डव भवन हाम्रो यात्राका महत्वपूर्ण गन्तव्य बने। बाबाको कुटी, तपस्या गर्ने स्थान, बाबाको कोठा तथा सयनकक्ष, उहाँले कक्षा सञ्चालन गर्ने हललगायत स्थानहरूको अवलोकन गर्दा इतिहास पढिएको मात्र होइन, अनुभूत गरिएको जस्तो लाग्यो।
बाबाले शरीर त्याग गरेको स्थान, उहाँले प्रयोग गरेका शय्या तथा अन्य स्मृतिहरूले आध्यात्मिक इतिहासलाई अझ जीवन्त बनाए।
यात्राका क्रममा ऐतिहासिक दिलवाडा जैन मन्दिरको अवलोकन पनि गरियो। संवत् १०३१ मा निर्मित मानिने यस प्राचीन मन्दिरका संगमरमरमा कुँदिएका कलाकृति अद्भुत छन्। मन्दिरभित्र मोबाइल लैजान निषेध भएकाले दृश्यहरू क्यामेरामा कैद गर्न नसकिए पनि आँखाले देखेको सौन्दर्य स्मृतिमा भने अमिट रह्यो।
मन्दिरका कलाकृतिले मानवीय सिर्जनाशक्तिको उच्चतम अभिव्यक्ति देखाउँछन्। ऋषभदेव अर्थात् आदिनाथको सुनौलो मूर्तिलगायत विभिन्न धार्मिक व्यक्तित्वका मूर्तिहरूले मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्व थप उजागर गर्छन्।
साउन २४ गते बिहान ४ बजे उठेर ध्यानमा सहभागी भयौँ। त्यसपछि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको आठौँ दादी प्रकाशमणि आबु हाफ म्याराथनको शुभारम्भ कार्यक्रम अवलोकन गरियो। अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपालका खेलाडीसमेत सहभागी रहेछन्। धनगढी र दाङलगायत नेपालका विभिन्न स्थानबाट १६ जना खेलाडी सहभागी भएको जानकारी पाइयो। साथै, यस म्याराथनमा ८० वर्ष उमेरका एकजना व्यक्ति पनि सहभागी भएका रहेछन्।
बिहान ६:४५ बजे शिविरको अन्तिम कक्षा राजयोगिनी प्रविना दिदीले सञ्चालन गर्नुभयो। उहाँले परमात्माको मुरलीको महत्त्वबारे चर्चा गर्दै मुरलीलाई अमूल्य खजानाका रूपमा प्रस्तुत गर्नुभयो। उहाँका केही सन्देश मनमा गहिरोसँग बसेः –
“फाल्तु बोल्नुभन्दा नबोल्नु राम्रो हुन्छ।”
“अमूल्य समयलाई बरबाद गर्नु हुँदैन।”
“खुसी अनुहारबाट देखिन्छ, त्यसैले अनुहार फक्रिएको गुलाफजस्तै राख्नुपर्छ।”
यी सन्देशहरूले पूरै प्रशिक्षणको सारलाई सरल र प्रभावकारी ढंगले समेटेका थिए।
मधुवन यात्राको यस महत्वपूर्ण अवधिमा मधुवन क्षेत्रका शान्तिवन, मनमोहिनीवन, आनन्द सरोवर, तपोवन, गौशाला, मानसरोवर, पीएम पार्क र सोलार थर्मल प्लान्ट गरी आठ प्रमुख स्थानको अवलोकन भयो। त्यस्तै, माउन्ट आबु क्षेत्रमा पाण्डव भवन, ज्ञान सरोवर, नक्की झिल, ग्लोबल हस्पिटल र दिलवाडा जैन मन्दिरजस्ता स्थानहरू पनि अवलोकन गरियो। पिस पार्कलगायत केही स्थान भने विभिन्न कारणले अवलोकन गर्न भ्याइएन। ती छुटेका स्थान अर्को यात्राका लागि सुरक्षित रहे।
मधुवनको बसाइ सकिएसँगै दिउँसो संस्थाको यात्री भोजन विभागबाट प्राप्त शुद्ध रोटी, तरकारी र अचार लिएर झोलामा राखियो। बाटोको नास्ताको लागि थियो यो। आबुमा अवस्थित ब्रह्माकुमारीजको मुख्यालयको कारण नजिकैको बजार क्षेत्रमा पनि हरेक लुगा कपडा देखि सबैखाले सरसामान प्राय सेतो कलरमा मात्रै भेटिने। हामिले पनि सम्झना स्वरूप बजारबाट केही सामग्री लिएर फर्कियौं। पर्यटकीय क्षेत्र भएकाले होला यहाँ प्रायः सबै सामानको मूल्य केही महँगो लाग्यो। अव्यवस्थित र सानो बजार भएपनी खोजेको कुरा भने सहजै भेटिने।
राति साढे १० बजे मनमोहिनीवनबाट बस चढेर १५ मिनेटमा आबु रोड सिटी रेलवे स्टेसन पुग्यौँ। राति १:४० बजे आबु रोडबाट बरेलीका लागि रेल चढ्यौँ।
यसैबीच बिहान सम्पन्न हाफ म्याराथनमा प्रथम स्थान हासिल गरेका कर्नाटकका ४३ वर्षीय नागेश पवारसँग भेट भयो। उहाँले १ घण्टा २२ मिनेटमा २१ किलोमिटर दूरी पूरा गर्नुभएको रहेछ। उहाँसँग तस्बिर खिचायौँ र हात मिलायौँ। यात्राका अनेकौँ संयोगमध्ये यो भेट पनि सम्झनलायक रह्यो।
घर फर्किँदा
करिब २० घण्टाको रेल यात्रापछि साउन २५ गते राति ८:३५ बजे बरेली रेलवे स्टेसन पुगियो। त्यहाँबाट बस चढेर साउन २६ गते बिहान ६ बजे गौरीफन्टा आइपुग्यौँ। राति केही घण्टा पलियामा विश्राम गरिएको थियो। अन्यथा बसले राति नै गौरीफन्टा पुर्याउने रहेछ।
त्यसपछि बिहान ८:३० बजे धनगढीबाट समन्वय उपप्रमुखको गाडीमा यात्रा गर्दै साँझ ७:५० बजे मंगलसेन आइपुग्दा एउटा लामो यात्राले भौगोलिक रूपमा विश्राम पायो। तर मनभित्र भने अर्को यात्रा सुरु भइसकेको थियो।
मंगलसेनबाट सुरु भएको यो यात्रा केवल सयौँ किलोमिटरको भौगोलिक दूरी पार गर्ने यात्रा थिएन। यो मनदेखि मनसम्म, विचारदेखि चेतनासम्म र बाहिरी संसारदेखि अन्तरात्मासम्म पुग्ने एउटा आध्यात्मिक यात्रा थियो।
राजयोगले आत्मचिन्तन सिकायो। ध्यानले मनको स्थिरता अनुभूत गरायो। सकारात्मक सोचले जीवनलाई हेर्ने दृष्टिकोण बदल्ने प्रेरणा दियो। शान्तिवनको शान्त वातावरण र ब्रह्माबाबाका स्मृतिस्थलले इतिहाससँग जोडिदिए। विभिन्न दिदी–भाइका प्रवचनले जीवनका सरल तर गहिरा सूत्रहरू सिकाए। सेवा तथा वातावरणीय परियोजनाले आध्यात्मिकता व्यवहारमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने देखाए। सहयात्रीहरूको आत्मीयताले यात्रालाई अझ सुन्दर बनाए।
यस यात्राबाट प्राप्त सबैभन्दा ठूलो शिक्षा सायद यही हो – परिवर्तन बाहिरबाट खोजेर मात्र सम्भव हुँदैन; परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ।
विचार बदलियो भने व्यवहार बदलिन्छ। व्यवहार बदलियो भने संस्कार बदलिन्छ। संस्कार बदलियो भने जीवनको दिशा बदलिन्छ।
माउन्ट आबुको त्यो शान्त आध्यात्मिक भूमिबाट फर्किँदा हातमा केही स्मरणीय सामग्री थिए, आँखामा अनेकौँ दृश्य थिए र मनमा असंख्य सम्झना थिए। तर तीभन्दा मूल्यवान् थियो – जीवनलाई अझ शान्त, सकारात्मक, अनुशासित, प्रेमपूर्ण र अर्थपूर्ण बनाउने एउटा नयाँ संकल्प।
त्यसैले यो यात्रा कुनै गन्तव्यमा पुगेर सकिएको यात्रा होइन। यो त आफूलाई चिन्ने यात्राको प्रारम्भ हो। आफूलाई सुधार्ने यात्राको संकल्प हो। आफ्ना विचारलाई पवित्र बनाउने यात्राको नविनतम प्रयास हो। अझ उत्कृष्ट, शान्त तथा अर्थपूर्ण जीवनतर्फ अघि बढ्ने नयाँ युगको लागि प्रवेश बिन्दु हो। मधुवनबाट फर्किएका हाम्रा पाइला मंगलसेनमा रोकिए, तर त्यहाँबाट जागेको आत्मिक चेतनाको यात्रा भने निरन्तर जारी रहने छ। ॐ शान्ति।
