अछामका २५ जनालाई आरन व्यवसाय सम्वन्धि सिप विकास तालिम प्रदानः सीप जहाँ पनि बिक्रि हुने नगरप्रमुख बोहराको भनाई

अछामः

अछामका १० पालिकाका २५ जनालाई आरन व्यवसाय सम्वन्धि सिप विकास तालिम प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास कार्यालय अछामको आयोजनामा ७ दिने सिप विकास तालिम दिईएको हो ।
टिकाराम पार्की दलित सशक्तिकरण सिप विकास कार्यक्रम अन्तरगत ७ दिने सिप विकास तालिम सम्पन्न पश्चात एक समारोहका विच प्रमाणपत्र वितरण गरिएको छ । सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले सामाजिक विकास कार्यालयले जिल्लामा दलित, महिला र सिमान्तकृत समुदायलाई लक्षित गरि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो । साथै आरन सम्वन्धि सीप सिकेर आफ्नो आर्थिक स्तर र जीवन परिवर्तन गर्न सहभागीलाई आग्रह गर्नुभयो । सिप जहाँ पनि बिक्री हुने भन्दै सीप हुनु जीवनका लागि महत्त्वपूर्ण रहेकाे नगरप्रमुख बोहराको भनाई थियो । ७ दिने तालिममा सिकेकाे सैद्धान्तिक ज्ञानलाई बृहत् र फराकिलो बनाउन आफू सक्रिय हुनुपर्नेमा उहाँको जाेड थियो ।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख रावलले सिप विकास तालिम संगै व्यवसाय सुरुवातका लागि प्रतिव्यक्ति रु २० हजारका दरले बिउँपुजि सहयोग गरिने जानकारी गराउँनुभयो ।
सिप सिके पश्चात व्यवसायिक रुपमा अघि बढ्न आग्रह गर्दै उहाँले व्यवसायिक रुपमा काम गर्नेहरुलाई आगामी दिनमा थप प्राेत्साहन गरिने प्रतिवद्दता जनाउनुभयो ।
समापन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य पूर्ण बहादुर रावल र शिक्षा विकास तथा समन्वय इकाइका निमित्त कार्यालय प्रमुख मदन बिष्ट अतिथि रहनुभएको थियो । समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमकाे सञ्चालन सामाजिक विकास कार्यालयका प्राविधिक सहायक राजु कुमार शाहले गर्नुभएको थियो ।


