
अछाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न भीम रावललाई आग्रह गर्नुभएको छ । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत अछामको साँफेबगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा प्रचण्डले भने, ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो । उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने । जोसँग कुरा गर्नुपर्ने त्यो सँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु ।’
अध्यक्ष प्रचण्डले अछामको सेती राजमार्ग, बुढीगंगा हाईडोपावर, बयालपाटा अस्पताललाई उचित बजेट विनियोजनका लागि पहल गर्ने बताउनुभयो । उहाले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने भएकाले २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आग्रह समेत गर्नुभयो । माओवादी जययुद्धका क्रममा आधार ईलाका मानिएको रामारोशन गाउँपालिकाका महिलाहरूले देउडा गीतमार्फत अछामको विकास र जनयुद्धका बेला घाइते शहिद परिवारलाई उचित व्यवस्थापनको माग समेत गरेका थिए ।

यसैविच नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तरगत अछाम सदरमुकाम मंगलसेनमा आयोजित जनसंवाद कार्यक्रमलाई पनि अध्यक्ष प्रचण्डले सम्वोधन गर्नुभएको छ । सम्वोधनका क्रममा उहाँले सुशासन र सामाजिक न्यायको पक्षमा तथा भ्रष्ट्राचार र बेथिति बिरुद्ध माओवादी पार्टी निर्मम रुपमा प्रस्तुत भएकोले नै अहिलेको अप्राकृतिक गठबन्धन बनेको बताउनुभयो । देशको समृद्धिका लागि माओवादी केन्द्रलाई साथ दिन आग्रह गर्दै उहाँले माओवादी बलियो भएमात्रै जनताका अधिकार स्थापित हुने बताउनुभयो ।
सेती लोकमार्ग संगै चिसापानी जंगलघाट मंगलसेन सडकको लागि आफु र आफ्नो पार्टीले पहल गरेको बताउदै प्रचण्डले अछामको विकास समृद्धिका लागि सडक र सदन दुबै ठाउमा माओवादी जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मंगलसेनमा आयोजित कार्यक्रममा पूर्व उपराष्ट्रपति तथा पार्टीका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) ले मन्तव्य राख्दै सामन्ति व्यवस्थाको अन्त्य र जनताको अधिकार स्थापित गर्नका लागि तत्कालिन जनयद्ध गरिएको बताउनुभयो ।
पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज शरद सिंह भण्डारीको अध्यक्षतामा भएको जनसंवाद कार्यक्रममा प्रेस सेन्टरका सुदूरपश्चिम प्रदेश कमिटी सचिव होम साउद र बुद्धिजीवि संगठनका केन्द्रिय सदस्य तथा कैलाश बहुमुखी क्याम्पस प्रमुख ईश्वर सोडारीले समसामयिक विषयमा सुझाव सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जनसंवाद कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्वर २ का ईञ्चार्ज राम प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।


