रामारोशन गाउँपालिकालेले ल्यायो ५४ करोड ३६ लाख ४० हजार बराबरको बजेट

शिक्षा क्षेत्रका लागि ४ करोड ३० लाख बजेट

अछाम : जिल्लाको रामारोशन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट ल्याएको छ ।गाउँपालिकाले आगामी वर्षका लागि ५४ करोड ३६ लाख ४० हजारको बजेट  ल्याएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर साउदको अध्यक्षतामा शनिबार सम्पन्न गाउँसभाको १८ औं अधिवेशनमा उपाध्यक्ष सिर्जना देवी बुढाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि अनुमानित आयव्यय सहित बजेट प्रस्तुत गर्नुभएको हो ।

Samajik New Add 2082

विभिन्न २१ वटा मुख्य क्षेत्रलाई बजेटको हिस्सा बनाउदै रामारोशनले बजेट तथा कार्यक्रम सभाबाट स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा क्षेत्रमा चार करोड ३० लाख, स्वास्थ्यमा एक करोड ६० लाख, वडागत सिलिङमा एक करोड सात लाख, आर्थिक विकासमा ३० लाख ५० हजार, वन तथा वातावरण व्यवस्थापन र महिला बालबालिकामा २०/२० लाख, अध्यक्ष तथा उपाध्यक्ष लक्षित कार्यक्रममा ४० लाख रकम रहेको छ । यस्तै न्यायिक समितिमा पाँच लाख, पञ्जिकरण दुई लाख ५० हजार, जग्गा प्राप्तिमा १५ लाख, दुई वडाका कार्यालय भवन निर्माण ६० लाख, स्वास्थ्य चौकी भवन निर्माण ६० लाख, भटाकाटिया स्वास्थ्य चौकी निर्माणमा ३० लाख बजेट रहेको छ ।

गाउँपालिकाले संघीय ससर्तको २४ करोड २९ लाख, सुशासन तथा संस्थागत विकासमा १० करोड ७८ लाख, संघीय विशेष अनुदान एक करोड ६५ लाख, संघीय समपुरक अनुदान एक करोड ४० लाख, प्रदेश समपुरक अनुदान एक करोड २२ लाख, प्रदेश सशर्त अनुदान ९० लाख, प्रदेश विशेष अनुदान ६० लाख व्ययको अनुमान गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि र भौतिक निर्माणसँगै रामारोशनको पर्यटनको विकासमा बजेट बढी केन्द्रित भएको भण्डारीको भनाई छ । गाउँसभाबाट बजेट स्वीकृत गरिसकेकोले छिट्टै बजेट पुस्तिका प्रकाशन गर्ने तयारी रहेको जनाईएको छ ।
स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.