रास्वपाले रूपन्देही-३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

Samajik New Add 2082

रास्वपा उपसभापति डिपी अर्यालले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।

रास्वपाका अनुसार प्राइमरी इलेक्सन गरी उम्मेदवार छानिएको हो। ९ जना उम्मेदवार बन्न आकांक्षी थिए। त्यसमध्ये लेखजंगलाई उम्मेदवार बनाइएको हो।

भैरहवाका लेखजंग वरिष्ठ न्युरोलोजिष्ट, अभियानी र सामाजिक व्यक्तित्व हुन्। उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका छन्।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबिएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डिएम न्युरोलोजी पढेका लेखजंग अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फर्मेटिभ’ का पनि ग्राजुएट हुन्।

उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। लेखजंग नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन्।

उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिनअघि जारी भएको छ। यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको छ।

निर्वाचन आयोगले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ र मनाङमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ। -setopati

Leave A Reply

Your email address will not be published.