
अछाम जेसिजको १३ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह आज मङ्गलसेनमा सम्पन्न भएको छ। नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अछाम जेसिज वर्ष २०२५ का अध्यक्ष जीतमान बोहराले नवनिर्वाचित वर्ष २०२६ का अध्यक्ष झनक अधिकारीलाई नेपाल जेसिजको विधानअनुसार अध्यक्षीय चेन हस्तान्तरण गर्नुभएको थियो।

पदस्थापना समारोहमा नवनिर्वाचित २०२६ का कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। साथै कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो। उहाँले अछाममा जेसिज स्थापना कालदेखि नै आफूले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आफू १८ देखि ४० वर्ष उमेर समूहमा नपरे पनि युवाजस्तै जोश र जाँगर रहेको बताउँदै जेसिज टिमसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो। साथै “एक मान्छे, एक वर्ष, एक पद” जेसिजको विशेषता भएको उल्लेख गर्दै यसबाट अन्य संघसंस्था तथा राजनीतिक दलहरूले पनि सिक्नुपर्ने बताउनुभयो।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्यायले अछाम जेसिज स्थापना भएको १३ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय पदाधिकारीसम्म पुग्ने गरी क्षमता अभिवृद्धि गर्न सुझाव दिनुभयो।
प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले अछाम जेसिजले निर्माण गर्न लागेको भवनका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो। साथै क्षमता अभिवृद्धिका लागि नेपाल जेसिजले प्रदान गर्ने तालिमहरू निःशुल्क उपलब्ध गराइने जानकारी दिँदै, नेपाल जेसिजको कार्यतालिकाअनुसार काम गर्न सुझाव दिनुभयो र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा मङ्गलसेन नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जेसिज सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम अछाम जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष झनक अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। पहिलो सत्रको सञ्चालन वर्ष २०२५ का महासचिव हिक्मतबहादुर नेपालीले गर्नुभएको थियो भने दोस्रो सत्रको सञ्चालन वर्ष २०२६ का महासचिव आनन्द साउदले गर्नुभएको थियो। कार्यक्रममा अछाम क्याम्पस, षाेडशा माध्यमिक विद्यालय तथा स्काउटका छात्राहरूले स्वागत गीत तथा नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।
यसअघि गत २७ गते सम्पन्न शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि अध्यक्षमा झनक अधिकारी सर्वसम्मत चयन हुनुभएको थियो। यस्तै कार्यकारिणी उपाध्यक्षमा हिक्मतबहादुर नेपाली र निसा भट्टराई, महासचिवमा आनन्द साउद, कोषाध्यक्षमा कमल रावल, कानुनी सल्लाहकारमा फलेन्द्रप्रसाद उपाध्याय चयन हुनुभएको छ। उपाध्यक्षहरूमा जनकबहादुर बुढा, दीपक खत्री, बृख राना र कृष्णा कुमारी थापा तथा सचिवमा पवित्रा खड्का चयन हुनुभएको हो। निर्वाचन अधिकृत नरेशकुमार शाहीबाट हस्ताक्षरित निर्वाचन प्रमाणपत्र आजको कार्यक्रममा वितरण गरिएको थियो।

