अछाम: अछामको मंगलसेन नगरपालिकाले जिल्लाको भोटकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि ३४ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिका प्रमुख पदमबहादुर बाेहरा द्वारा हस्ताक्षरित शाेक विज्ञप्ति अनुसार २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद्बाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले विभिन्न शीर्षकबाट रकम संकलन गरी सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
मंगलसेन नगर कार्यपालिकाको २०८३ भदौ १५ गते बसेको बैठक ले विपद् प्रभावितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। निर्णयअनुसार नगर विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ सहयोग गरिनेछ।
त्यस्तै, नगर प्रमुखको स्वेच्छिक रूपमा एक महिनाको सेवासुविधा, अन्य नगर कार्यपालिका सदस्यहरूको ७ दिन बराबरको सेवासुविधा, वडा सदस्यहरूको ५ दिन बराबरको सेवासुविधा सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरिएको छ।
यसका साथै अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक तहका शिक्षकहरूको ७ दिन बराबरको तलबभत्ता, सहायकस्तरका कर्मचारी तथा आधारभूत तहका शिक्षकहरूको ५ दिन बराबरको तलबभत्ता र श्रेणीविहीन तथा ज्यालादारी कर्मचारीहरूको २ दिन बराबरको तलबभत्ता समेत सहयोगका लागि संकलन गरिने भएको छ।
यसरी जम्मा ३४ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिक तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका कार्यमा नेपाल सरकार तथा सम्बन्धित निकायबाट भइरहेका प्रयासलाई सफल बनाउन सबै पक्षसँग सहयोग, समन्वय र सहकार्यका लागि अपिल गरेको छ।
सूचनामा विपद्मा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ।