धनगढी उपमहानगरको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

१९ फागुन, धनगढी:

Samajik New Add 2082

विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट हालै राजीनामा दिएका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले बिहीबार धनगढीमा घोषणा सभा आयोजना गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्ररु उम्मेदवारी दिएका हमालले नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए । ‘२०७४ सालको चुनावमा हामीले दोस्रो स्थान हासिल गरे पनि त्यसलाई मैले पहिलो नै मानेको छु’ घोषणा सभालाई सम्बोधन गर्दै हमालले भने, ‘मैले चार वर्ष धनगढीको विकासका लागि योजना बनाउनमा बिताएको छु । धेरै राजनीतिक दलले मेयरको टिकट दिन्छु भने पनि म धनगढी नगरवासीको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दिनेछु ।’

उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै आफूलाई नभएर धनगढीलाई जिताउन आहृवानसमेत गरे ।

आफूले चुनाव जितेपछि कुनै किसिमको लाभ नलिने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दाबी उनको छ । ‘म साझा व्यक्तिको रुपमा भएकाले सबैलाई न्याय गर्नेछु । मेयरको लाभ लिंदैन भन्नुको अर्थ भ्रष्टाचार हुन दिदैन, बेथिति हुन दिदैन, भ्रष्टाचार प्रवृत्तिलाई कल्याणकारी प्रवृत्तिमा परिणत गर्छु,’ हमाले भने ।

उनले धनगढीको विकास अहिलेलाई नभएर ५० वर्ष पछिका लागि हुने गरी योजना सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

हमालसँगै अन्य चार जनाले पनि स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

धनगढी उपमहानगरपालिका-४ को वडाध्यक्षमा सिद्धराज पनेरु, वडानम्बर ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले उम्मेदवारी घोषणा गरेका छन् । वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चार जना पनि विवेकशील साझा पार्टीमा क्रियाशील थिए ।
Onlinekhabar

Leave A Reply

Your email address will not be published.