

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार अबेर सार्वजनिक अन्तिम मत परिणामसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र नतिजाबाट उत्साहित देखिएको छ भने पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा सहभागी भएको प्रतिनिधिसभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जादु चल्न सकेन ।

प्रतिपक्षमै रहेको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा विजय हासिल गर्नुबाहेक अन्य स्थानमा प्रभावशाली उपस्थिति देखाउन नसकेको हो । यस्तै संसदको पाँचौ ठुलो पार्टी राप्रपाले त लज्जास्पद नतिजा ल्यायो । राप्रपाले चुनावअघि सानदार नतिजा ल्याउने दाबी गरेपनि मत परिणामबाट उक्त पार्टीको हैसियत सहभागितामै सीमित बनेको हो । राप्रपा र रास्वपाका उम्मेदवारको कैयन ठाउँमा जमानत नै जफत भएका छन् ।
माओवादीले भने यसअघि चुनाव जितेको केही स्थान गुमाएपनि कांग्रेस एमालेको किल्ला भत्काउँदै नतिजा सुधार गरेको हो । उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादी जितेका ७ पद रिक्त रहेपनि सो पार्टीले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्ष र ७ वटा वडामा विजय हासिल गरेको हो ।
निर्वाचनबाट माओवादी केन्द्र कति उत्साहित छ भन्ने कुरा सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । २०७९ सालको निर्वाचनमा कांग्रेसले सानदार ढङ्गले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष प्रचण्डले पूर्वबाट ०६४ साल फर्किएको प्रतिक्रिया दिएका थिए । माओवादी उम्मेदवारले जितेपछि फोन गरेर बधाई दिँदै प्रचण्डले यस्तो प्रतिक्रियासहित खुसी साटेका हुन् ।
यसैगरी सत्ताको नेतृत्व गरेको दल एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ । यस आधारमा एमालेले २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा गुमाएको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोस्न सफल भएको छ । तर, दुई पद जित्नुबाहेक एमालेले वडामा भने खासै प्रगति गर्न सकेन ।
यसैगरी सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो । उपनिर्वाचनबाट माओवादीको सुधारिएको नतिजा देखिँदा सत्तामा रहेका कांग्रेस र एमालेलाई धक्का लाग्न पुगेको नतिजाले देखाएको छ ।
उसो त उपनिर्वाचनमा जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमकिपाले १ वडामा विजय हासिल गर्दा अर्का एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भए । आइतबार ४१ पदका लागि मतदान भएपछि उपनिर्वाचन कार्यक्रम भने ४४ पदका लागि थियो ।
जसअनुसार यसअघि नै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध भएका थिए । यस्तै रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादीका जगत् घर्ती निर्विरोध भएका थिए ।
