जिल्लामा एउटै सेफ हाउस प्रभावकारी सञ्चालन गर्नुपर्नेमा सरोकारवाला एकमत
नगरपालिकाले ३ लाख र गाउँपालिकाले २ लाख साझेदारी गर्ने सहमती

होम साउद, अछामः

हिंसा पिडीत महिलाको लागी सेफ हाउसको प्रभावकारी सञ्चालन गर्नुपर्नेमा सरोकारवाला एकमत भएका छन । मंगलसेन नगरपालिकाले आयोजना गरेको जिल्ला स्थित स्थानीय तह तथा सरोकारवालासंग लैङ्गिक हिंसा न्यूनिकरण सम्वन्धि समन्वय वैठकमा सहभागी सवै स्थानीय तहका प्रमुख प्रतिनधिहरुले जिल्ला सदरमुकाममा मंगलसेन नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आवास गृहलाई सवै पालिकाको स्वामित्व हुने गरि प्रभावकारी रुपमा सञ्चालन गर्न सहमत भएका हुन ।
मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समन्वय वैठक मार्फत विभिन्न निर्णयहरु समेत गरिएको छ । जसमा सेफ हाउस सञ्चालन निर्देशिका आगामी समन्वय वैठकबाट संसोधन गरि संसोधित निर्देशिका अन्तरगत सञ्चालन हुने गरि हाललाई मंगलसेन नगरपालिकाले नेतृत्व गरि सञ्चालन गर्ने, जिल्ला स्थित सम्पूर्ण पालिकाको स्वामित्व रहने गरि नगरपालिकाहरुले ३ लाख तथा गाउँपालिकाहरुले २ लाखका दरले साझेदारी गर्ने रहेका छन । यस्तै सेफ हाउस सञ्चालनका लागि मंगलसेनन गरपालिकाले निर्माण गरेको निर्देशिका साउन २० गतेभित्र आवश्यक संशोधन गर्न सवै पालिका प्रमुख तथा अध्यक्षहरुलाई समन्वयका लागि जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध गर्ने र सुरक्षित आवासगृह भवन निर्माणका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आवश्यक बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

सोहो अवसरमा मंगलसेन नगरपालिका मार्फत सञ्चालित सुरक्षित आवास गृहमा २०८१ भाद्र ७ गते देखि हालसम्म अछामका १० वटै पालिका र छिमेकी जिल्लाका समेत गरि २४५ जना हिंशा पिडित महिला तथा बालबालिकाहरुले सेवा लिएको तथ्यंक प्रस्तुत गरिएको थियो । यस्तै जिल्ला अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र ओसिएमसि मार्फत २०८१ श्रावण देखी २०८२ वैशा सम्ममा २९० जनाले सेवा लिएको जनाईएको छ ।
कमलबजार नगरुपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, पञ्चदेवल बिनायक नगरपालिका प्रमुख अम्विका चलाउने, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद, प्रमुख जिल्ला अधिकारी आनन्द शारु, साँफेबगर नगरपालिका उपप्रमुख शिव बहादुर कुवर, मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष विमला शाही, ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही, मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी र अन्य पालिकाबाट सहभागी प्रतिनिधिहरुले हिंसा पिडीत महिलाहरुका लागि उपचार तथा परामर्श गर्न सेफ हाउस अपरिहार्य भएको भन्दै एकद्धार प्रणालीबाट सवैको स्वामित्व हुने गरि सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए । पिडितलाई सेवा दिनुपर्ने संवेदनशिल क्षेत्रलाई राजनीतिक रुपमा बिवादित बनाउन नहुने सहभागीको भनाई थियो ।
अल्पकालिन सुरक्षित आवासगृह (सेफ हाउस) सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा युएन एफ पीए, सिएमसी नेपाल र साथी संस्था लगायतले पनि साझेदारी गरिरहेका छन भने केही स्थानीय तहमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण सञ्चालन समेत भैरहेको छ । जिल्लामा सेफ हाउस सञ्चालन र व्यवस्थापनका विषयमा करिब एक वर्षदेखि बिवाद रहेकोमा सवै स्थानीय तहको सहभागीतामा ठोस निर्णय गरिदा समस्या समाधान उन्मुख रहेको बुझ्न सकिन्छ ।


