
कुलमानको आह्वान– हामीले जितिसक्यौँ, अब नभत्काऔँ, संयम भएर अगाडि बढौँ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयम भएर अघि बढ्न प्रदर्शनकारीलाई आग्रह गरेका छन् । मंगलबार (भदौ २३) साँझ काठमाडौंको बौद्धमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभामा सहभागी हुँदै उनले संरचना नभत्काउन आह्वान गरे ।

“सबैले संयम भएर अब – जति भत्काउनु, जति गर्नु गरिसक्यौँ । अबचाहिँ संयम भएर अगाडि बढौँ,” उनले भने, “देश निर्माण हामीले नै गर्नुपर्छ । भत्काएर मात्रै हुँदैन । हाम्रै करबाट बनेको संरचनालाई हामीले अब नभत्काऔँ ।”


उनले ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।
उनले सरकार चलाउनेले राजीनामा दिइसकेका भन्दै जेनजीले जितेको टिप्पणी गरे । “हामीले जितिसक्यौँ । सरकार चलाउनेहरूले राजीनामा गरिसक्नुभयो । र, देश अब हामी संयम भएर हामीले नै अगाडि बढाउनुपर्छ,” घिसिङले भने, “त्यो भएको हुनाले अब संयमता अपनाउने बेला आएको छ ।”
जेनजी पुस्ताले प्रदर्शन थालेको पहिलो दिन सोमबार (भदौ २३) प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । मंगलबार उनीहरूले देशका धेरै स्थानमा तोडफोड र आगजनी गरे ।
