अछाममा प्रसव फिस्टुला कार्यक्रम लागु हुदैः मङ्गलसैनमा पालिका स्तरिय समन्वय वैठक गरियो

अछाममा प्रसव फिस्टुला कार्यक्रम लागु हुने भएको छ । साईनिङ्ग अस्पताल, आई.एन.एफ. नेपाल सुर्खेत मार्फत फिस्टुला सम्वन्धि समस्या भएका महिलाहरुलाई लक्षित गरि जिल्लाका १० वटै पालिकामा कार्यक्रम संचालन हुन लागेको हो ।

यसै सम्वन्धमा मङ्गलसैन नगरपालिकामा पालिका स्तरिय समन्वय वैठक सम्पन्न भएको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समन्वय वैठकमा नगरपालिकाका सवै वडामा स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वंसेविकाहरु मार्फत फिस्टुला सम्वन्धि जानकारी पहिचान लगायतका कार्यक्रम गरिने, पहिचान पश्चात बिरामीको निशुल्क उपचार र यातायात तथा पुनःस्थापनाका लागि समेत पहल गरिने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले फिस्टुला सम्वन्धि कार्क्रम निकै महत्वपूर्ण रहेकोले महिलाहरुको स्वास्थ्यका लागि राम्रो भूमिका खेल्ने बताउनुभयो ।

सोहि अवसरमा अछामका सवै १० वटै पालिकाका ९१ वटै वडामा महिला स्वास्थ्य स्वंसेविकाहरु मार्फत प्रसव फिस्टुला सम्वन्धि समस्या भएका महिलाहरुको पहिचान गर्ने र निशुल्क उपचार लगायतका कार्यक्रम संचालन गरिने आईएनएफ सुर्खेतका आउटरिच परियोजना काेर्डिनेटर कान्ती शर्माले जानकारी गराउनुभएको थियो ।
उक्त समन्वयात्मक वैठकमा नगर उपप्रमुख संगिता कुमारी रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडा नम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिका स्वास्थ्य शाखाका सिअहेव अधिकृत चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो । प्रसव फिस्टुला सम्वन्धि कार्यक्रमका लागि अछामका अन्य सथानीय तहहरुमा पनि निरन्तर समन्वयात्मक वैठक संचालन गरिने आईएनएफ नेपालका मधु भण्डारीले जानकारी दिनुभयो ।


