
अछाम:
अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नं. ६ दर्नास्थित श्री ऐश्वर्य माध्यमिक विद्यालयमा किशोरीहरूका लागि दुई दिने आत्मरक्षा तालिम कार्यक्रम सञ्चालन गरिएको छ। किशोरीहरूको आत्मविश्वास अभिवृद्धि तथा आत्मसुरक्षाको सीप विकास गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो ।


कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशी उपस्थित रहनुभएको थियो ।
यस्तै, बान्निगढी जयगढ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष जगत बहादुर थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री हिक्मत थापा, प्रशिक्षक श्री वी. एस. ओडलगायतको पनि उपस्थिति रहेको थियो ।
तालिमका क्रममा किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको प्रशिक्षकले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनको जिम्मेवारी प्रा.स. राजु कुमार साहले निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी किशोरीहरूले यस्ता तालिमले आफूहरूलाई सुरक्षित महसुस गर्न र आत्मबल बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।

