
अछाम: मङ्गलसैन नगरपालिकाको नगरसभाको १६ औँ अधिवेशन बिहीबार सम्पन्न भएको छ। हिउँदे अधिवेशनका रूपमा सञ्चालन गरिएको उक्त नगरसभाले विभिन्न महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

मङ्गलसैन नगरसभा अध्यक्ष तथा नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षता र सञ्चालनमा भएको अधिवेशनको पहिलो बैठकमा नगरपालिकाका विभिन्न विषयगत समितिहरूले आर्थिक वर्ष २०८१/०८२ का वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, नगर शिक्षा समिति, विधेयक समिति तथा न्यायिक समितिका प्रतिवेदनहरू छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।

अधिवेशनको दोस्रो बैठकमा नगरसभामा दर्ता भएका विभिन्न ऐन तथा कार्यविधिसम्बन्धी विधेयकहरूमाथि विस्तृत छलफल गरिएको थियो। छलफलपछि “मङ्गलसैन नगरपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक, २०८२”, “नगरसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि, २०८२”, “बेरुजु फर्स्यौट कार्यविधि, २०८२” तथा “लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि, २०८२” सर्वसम्मत रूपमा पारित भएका छन्।
यसैगरी चालु आर्थिक वर्ष २०८२/०८३ का योजना तथा कार्यक्रम संशोधनका लागि विनियोजन ऐन संशोधनसम्बन्धी विधेयक पनि नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै नगरसभा सदस्य विनोद कुमार थापाको संयोजकत्वमा पाँच सदस्यीय लेखा समिति गठन गरिएको नगरसभा सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो।
नगरसभामा नगर उपप्रमुख सङ्गीता कुमारी रावल तथा विषयगत समिति संयोजकहरू बिर्ख बहादुर बोगटी, खगेन्द्र बहादुर रावल, ज्ञानेन्द्र बहादुर बोहरा, देवेन्द्र प्रसाद भण्डारी, लोक राज नाथ, शिव बहादुर सोडारी र जनक कुँवरले आ–आफ्ना समितिका विधेयक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
अधिवेशनको समापन गर्दै नगरसभा अध्यक्ष बोहराले नगरसभा सफलतापूर्वक सम्पन्न गर्न उत्साहजनक सहभागिता जनाउने नगरसभा सदस्यहरू, कर्मचारीहरू तथा नगरवासीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

