
६ चैत मंगलसेन, अछाम — मंगलसेन नगरपालिकाले स्थानीय पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सूचना र सञ्चार क्षेत्रको विकासलाई टेवा पुर्याउने उद्देश्यले “खोजमूलक लेख, रचना र अनुसन्धान कार्यक्रम” सञ्चालन गर्ने भएको छ। नगरपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम ल्याइएको हो।

यस कार्यक्रम मार्फत अछाम जिल्लाभित्र क्रियाशील पत्रकारहरूलाई विभिन्न सामाजिक, आर्थिक तथा विकास सम्बन्धी विषयमा खोजमूलक सामग्री उत्पादन गर्न प्रोत्साहन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य सुरक्षा, सामाजिक सुरक्षा, विकास निर्माण, वित्त तथा अर्थतन्त्र, विपद् जोखिम व्यवस्थापन लगायतका विविध विषयहरू समेटिएका छन्। साथै, डिजिटल सेवा प्रवाह, लैङ्गिक समानता, पर्यटन प्रवर्द्धन र गरिबी निवारणजस्ता समसामयिक मुद्दामा आधारित अनुसन्धानात्मक लेखनलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।
आवेदन दिन इच्छुक पत्रकारहरूले तोकिएको ढाँचामा आवेदन, नागरिकताको प्रतिलिपि, सञ्चारमाध्यमबाट जारी परिचयपत्र, न्यूनतम एक वर्षको अनुभव खुल्ने कागजात तथा प्रस्ताव सहितका आवश्यक कागजात पेश गर्नुपर्नेछ।

नगरपालिकाका अनुसार कार्यक्रम अन्तर्गत तयार गरिएका सामग्रीहरू लेख, समाचार, सफलता कथा, अडियो/भिडियो रिपोर्ट तथा अन्तर्वार्ता जस्ता विभिन्न माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न सकिनेछ। प्रकाशित सामग्रीको प्रतिलिपि नगरपालिकामा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
सूचना प्रकाशित भएको मिति २०८२ चैत ६ गते देखि १५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, एक जना पत्रकारले बढीमा तीनवटा विषयमा मात्र प्रस्ताव पेश गर्न सक्ने जनाइएको छ।
यस कार्यक्रमले स्थानीय स्तरमा खोजमूलक पत्रकारितालाई प्रवर्द्धन गर्दै पारदर्शिता, सुशासन र विकास प्रक्रियामा नागरिक सहभागिता बढाउने अपेक्षा गरिएको छ।
हेर्नुहाेस सूचना:


