अछामका सबै पालिकाको प्रतिबद्धता: सेफ हाउसलाई स्रोत अभाव हुन दिइने छैन

Kirci Gyan Kendra

मंगलसेन, ८ चैत्र:
अछाम जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्लामा सञ्चालित सुरक्षित आवासगृह (सेफ हाउस) लाई स्रोत–साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय महिला, बालबालिका तथा किशोरीमाथि विभिन्न बहानामा हिंसाका घटनाहरू बढ्दै गएकाले सेफ हाउसलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको उनीहरूको जोड छ।

Samajik New Add 2082

हालसम्म सेफ हाउसले हिंसापीडितहरूलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यसको दिगोपनाका लागि आवश्यक स्रोत–साधन जुटाउन सबै पालिकाले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनप्रतिनिधिहरूले दोहोर्‍याएका छन्। मंगलसेन नगरपालिकाको नेतृत्वमा सञ्चालन भइरहेको सेफ हाउसलाई नमुना आवासगृहका रूपमा विकास गर्न निरन्तर सहयोग गर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले पनि हिंसापीडित महिलाहरूको क्षेत्रमा सेफ हाउसले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सेवा थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, सेफ हाउसमा आश्रय लिन आउने महिला तथा किशोरीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिइएको छ।

Saud Agro Kailash

मंगलसेन नगरपालिकाद्वारा आयोजित ‘लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना’ दोस्रो चरणअन्तर्गत जिल्ला स्तरीय लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार सम्बन्धी समन्वय समिति बैठकमा सहभागीहरूले सेफ हाउसका हालसम्मका कार्यहरू प्रशंसनीय रहेको बताएका छन्। आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाहका लागि जिल्लाका १० वटै पालिकासँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। उनीहरूका अनुसार सेवा मात्र पर्याप्त नभई गुणस्तरीय, दिगो र भरपर्दो सेवा अहिलेको आवश्यकता हो।

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो।

त्यसैगरी विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा युएनएफपिए अछाम–डोटी प्रमुख भरत गोतामेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो।

अछाम जिल्लामा एक मात्र सुरक्षित आवासगृहका रूपमा रहेको सेफ हाउसलाई अझ प्रभावकारी र नमुना संस्थाका रूपमा विकास गर्न सबै पक्ष एकमत देखिएका छन।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.