शैक्षिक गुणस्तर सुधारका लागि षोडशा मा.वि. मा अन्तरक्रिया
शैक्षीक गुणस्तर सुधारका लागि सबैले आ आफ्नो पक्षबाट लाग्नु पर्नेः नगरप्रमुख बोहरा

अछाम, २२ पौषः

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि १ दिने अन्तरक्रिया कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा षोडशा माविमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नगरपालिकाका प्रत्येक वडामा एउटा विद्यालय छनोट गरि यहि पौष १३ देखी २६ गतेसम्म चरणबद्ध रुपमा अन्तरक्रिया कार्यक्रमहरु भईरहेका छन । जस अन्तरगत नै वडानम्वर ५ स्थित षोडशा माविमा कार्यक्रम गरिएको जनाईएको छ ।

बिव्यस अध्यक्ष भोजराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले शैक्षीक गुणस्तर सुधारका लागि सबैले आ आफ्नो पक्षबाट लाग्नु पर्ने बताउनुभयो । “बोर्डिङ बाट फर्काउ सामुदायिक विद्यालयमा भर्ना गराउ” भन्दै आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालयमै भर्ना गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अन्य सबै अभिभावकले पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अग्रसर रहनुपर्ने उल्लेख गर्दै उहाँले अभिभावकको चेतना विकासमा जोड दिनुपर्ने कुरामा जोड दिनुभयो ।
अन्तरक्रियामा शैक्षिक गुणस्तर सुधारका समग्र पक्षमा छलफल गरिएको थियो । साथै विद्यालयमा बालबालिकाको उपस्थिति शतप्रतिशत नरहेको कुरा अन्तरक्रियाबाट जानकारीमा आएको र सो समस्याको निराकरणका लागि सम्भावित उपाय अपनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालय प्रशासनले थप पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै अन्तरक्रियाको सहजीकरण गर्नुभएको कार्यक्रममा षोडशा माविका प्रधानाध्यापक मदन बहादुर कुवरले विद्यालयको समग्र अवस्थाबारे प्रस्तुतीकरण राख्नुभएको थियो । यस्तै अन्तरक्रियामा शिक्षा शाखाका प्रा. स. दिपेन्द्र बिष्ट र दीपक भण्डारीले कार्यक्रम संचालक तथा सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रियामा वि व्य स का पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, मंगलसेन नगरपालिकाका पूर्व शिक्षा शाखा प्रमुख तथा विद्यालयका शिक्षक वृकेश बोगटी, शिक्षक सर्प रिमालऽ, पदमराज अधिकारी, विशेश्वर प्रसाद ढुङ्गाना, शंकर बहादुर रावल लगायत शिक्षक तथा सरोकारवालाहरुले सुझाव समेत राख्नुभएको थियो ।

