मंगलसेन नगरपालिकामा माघ २१ गतेबाट विद्यालय संचालन गरिने
शैक्षीक गुणस्तरका लागि शिक्षक जिम्मेवार बन्नुपर्नेमा नगरप्रमुख बोहराको जोड

अछाम१३ माघ-

मंगलसेन नगरपालिकामा माघ २१ गतेबाट नियमित रुपमा विद्यालय संचालन गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाद्धारा दुई चरणमा सञ्चालित प्रधानाध्यापकहरुको बैठकले सो निष्कर्ष निकालेको हो ।
नगरक्षेत्रभित्रका सबै विद्यालयहरुमा कक्षा १ देखी ५ सम्म नियमित रुपमा बिहान १० बजेदेखी २ बजेसम्म विद्यालय संचालन गर्ने र कक्षा ६ देखी १२ सम्म बैकल्पीक शैक्षीक सिकाई मोडेलमा कक्षा अगाडी बढाउने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलले बताउनुभयो । ‘कक्षा ६ देखी माथि विद्यालयको परिवेश अनुसार वैकल्पिक कक्षाहरु अगाडि बढाउने निर्णय भएको छ’, अधिकृत रावलले भन्नुभयो – ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थका सबै मापदण्ड अपनाएर विद्यालय संचालन गरिने छ ।’

बैठकमा आसन्न नगर शिक्षा समितिको बैठकका लागि प्रधानाध्यापकहरुबाट सुझाव संकलन गरिनुका साथै शैक्षीक क्यालेण्डर निर्माण र प्रकाशन तथा स्थानीय पाठ्यक्रम र एकिकृत पाठ्यक्रम सम्वन्धी पनि छलफल गरिएको थियो ।
यस्तै षोडशा माविका शिक्षक रुपराज भाटको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै सोक दिवस मनाउने तथा राहतका लागि नगर कार्यपालिकामा अनुरोध गर्ने निर्णय भएको छ । बैठकबाट गुणस्तरीय शिक्षाका लागि सरोकारवाला व्यक्ति, निकाय संगै शिक्षकहरु जिम्मेवार बन्नुपर्ने र अभिभावकलाई सचेतना जगाउँनुपर्ने निष्कर्ष निकालिएको छ ।
शिक्षा अधिकृत जगत बहादुर रावलको अध्यक्षतामा भएको बैठकको समापन कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । नगरप्रमुख बोहराले शैक्षीक गुणस्तरका लागि सर्वप्रथम शिक्षक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । ईच्छाशक्ति भएका शिक्षकहरुले विद्यालयमा राम्रो गरिरहेको भन्दै उहाँले जिम्मेवारी वोधका साथ शैक्षीक उपलव्धि हाँसिल गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । अभिभावकले पनि निजी भन्दा सामुदायीक विद्यालयमा छोराछोरी पढाउनुपर्ने र शैक्षीक गुणस्तर उकास्न अग्रसर हुनुपर्ने बोहराको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको विशेष उपस्थिति रहेको सो कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक दिपक भण्डारीले गर्नुभएको थियो । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बुधबार र बिहिबार २ दिनसम्म दुई चरणमा स्वास्थ्य मापदण्डको पालना गरिएको थियो ।
बैठकमा अघिल्लो दिन वडा नम्वर १ देखी ९ सम्मका सबै विद्यालयका २५ जना प्रधानाध्यापक र दोस्रो दिन वडा नम्वर १० देखी १४ सम्मका विद्यालयका २४ जना प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।

