
मंगलसेन नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । १७ वटै स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेका काम कार्यहरुको २ दिन लगायर समिक्षा गरिएको हो ।

स्वास्थ्य संस्थाले सम्पादन गरेका कामहरुलाई ९ वटा कार्यक्रमका २१ वटा सूचकमा आधारित रहि समिक्षा रिएको जनाईएको छ । निर्धारित सूचकका आधारमा मुल्याङ्कन गर्दा कालागाउँ स्वास्थ्य चौकी प्रथम, जनालिवण्डाली स्वास्थ्य चौकी दोस्रो र जुपु स्वास्थ्य चौकीले तेस्रो स्थान हाँसिल गर्न सफल भएका छन । तिन वटै स्वास्थ्य चौकीहरु (कालागाउँ स्वास्थ्य चौकीको ईन्चार्ज भविसरा थापा, जनालीवण्डाली स्वास्थ्यको ईन्चार्ज धनसरा ढुंगाना र जुपु स्वास्थ्य चौकीको ईन्चार्ज रत्ना सोडारी) लाई पुरस्कृत तथा सम्मानित गरिएको छ । साथै पारामेडिक्स तर्फ कुन्तिवण्डाली स्वास्थ्य चौकीका ईन्चार्ज हे.अ. अर्जुन बहादुर बोहरा र नर्सिङ कर्मचारी तर्फ वस्ती स्वास्थ्य चौकीमा कार्यरत अ न मी रेवती साउँद उत्कृष्ट हुनुभएको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बिर्ख बहादुर बोगटीको अध्यक्षतामा सुरु भएको २ दिने समिक्षा कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहराले उत्कृष्ट स्वास्थ्य संस्थाहरु र कर्मचारीलाई टिका माला र खादा सहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख संगिता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, सबै वडा अध्यक्षहरु, नगरपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुख र कर्मचारीको सहभागिता रहेको थियो ।
