अछाम, ३२ श्रावणः
मंगलसेन नगरपालिका वडानम्वर ६ मा बायोग्याँस प्लान्ट निर्माण कार्य सम्पन्न भएसंगै ग्याँस उत्पादन सुरु भएको छ । मंगलसेन नगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, जिआईजेडको संयुक्त पहलमा फोहोरबाट ग्याँस उत्पादन गर्ने गरि बायोग्याँस प्लान्ट निर्माण भएको हो ।
मंगलसेन नगरपालिकाको १० लाख र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ८ लाख २० हजार गरि जम्मा १८ लाख २० हजार खर्च भएको जनाईएको छ । बायोग्याँस प्लान्ट निर्माणका लागि जिआईजेड नेपालले प्राविधिक सहयोग गरेको छ । मंगलसेन बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि बनाईएको ल्याण्डफिल साईटमा फालिने कुहिने फोहोरबाट ग्याँस उत्पादन गरि निशुल्क वितरण गर्दा प्रभावित क्षेत्रका सेवाग्राही खुसि भएका छ । “नगरपालिकाले फोहोरबाट ग्याँस उत्पादन गरेर घरघरमा पुर्याउँदा हामी असाध्यै खुसी छौं” – बायोग्याँस लाभग्राही तारा प्रसाद भण्डारीले खुसि व्यक्त गर्नुभयो । ग्यास प्लान्टबारे विभिन्न ठाउँबाट फोन गरेर जानकारी लिने गरेको भन्दै हेर्नका लागि पनि मान्छेहरु आउनसक्ने भन्दै प्रर्यटन प्रवर्द्धन समेत हुने उहाँको विश्वास छ ।
डम्पिङ साईड प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिकता दिएर बायोग्याँस प्लान्टबाट ग्यास उपलव्ध गराएकोमा अर्का स्थानीय रंग प्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभयो । ग्यासको दीगोपना र संरचनाको पूर्ण सूरक्षाका लागि नगरपालिकाले पहल गर्नुपर्ने उहाँको माग छ । लाभग्राहीको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको भन्दै उहाँले डम्पीङ साईड प्रभावितका लागि थप कार्यक्रम पनि दिनुपर्ने बताउनुभयो ।
प्लान्टबाट हाल ६ वटा घरधुरीमा पाईपलाईनबाट ग्याँस पुर्याईएको छ भने चुलो जडान कार्य समेत सम्पन्न भईसकेको जिआईजेडका कलष्टर संयोजक नृप कुमालको भनाई छ । परिक्षण कार्य सफल भईसकेको बायोग्याँस प्लान्टबाट तत्काललाई नमूनाको रुपमा ६ घरलाई निशुल्क ग्याँस वितरण गरिएको र फोहोर संकलनको परिणाम बृद्धि गरि आगामी दिनमा थप घरहरुमा विस्तार गर्न सकिने केसीको भनाई छ । “यो बायोग्याँस प्लान्ट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमै पहिलो हो “, केसीले भन्नुभयो – “नगरपालिकाको सहकार्यमा आगामी दिनमा ग्याँस प्लान्टबाटै वत्ति जलाउने पहल गरिनेछ ।”
वडानम्वर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले फोहोरबाट उत्पादन भएको ग्याँसले स्थानीयलाई खाना पकाउन निकै सहज हुने बताउनुभयो । आगामी दिनमा ग्यास प्लान्टको बाहिरी व्यवस्थापन र थप पाईपलाईन विस्तारका लागि पहल गरिने वताउनुभयो । नगरपालिकामै नमूना काम भएकोले यसको दीगोपना सुरक्षा र अपनत्व लिन स्थानीय अग्रसर हुनुपर्ने उहाँको भनाई छ । अहिलेलाई ग्यास परिक्षण कार्य सफल भईसकेकोले केही दिनमै एक समारोहको आयोजना गरि उदघाटन र हस्तान्तरण गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
यसैविच, बिहिबार बिहान बायोग्यास प्लान्टको व्यवस्थापन र संचालनका विषयमा ६ नम्वर वडा कार्यालयमा समन्वयात्मक वैठक सम्पन्न भएको छ । वडा अध्यक्ष देवेन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको वैठकले बायोग्याँस लाभग्राही ६ जनाले नै हप्तामा १/१ दिन रेखदेख सुरक्षा र फोहोर व्यवस्थापन गर्ने निर्णय गरिएको छ । मंगलसेन बजारबाट पनि चाहिनेजती फोहोर नआउने गरेकोले तत्कालका लागि लाभग्राहीले पनि फोहोरको व्यवस्थापन गर्ने विषयमा वैठकमा छलफल गरिएको थियो । वैठकमा जिआईजेडका जिल्ला संयोजक नृप कुमाल, वडा सदस्यहरु दुर्गा प्रसाद भण्डारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा देवी दमाई, नगरपालिकाका संघसंस्था समन्वय शाखा प्रमुख होम बहादुर साउद, वडा सचिव तारा प्रसाद भण्डारी र बायोग्याँस लाभग्राहीहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस भिडियोः