
अछाम: मंगलसेन नगरपालिका पशुसेवा शाखाको आयोजनामा मंगलसेन नगरपालिका वडा नं. १ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

ग्रामीण क्षेत्रमा रहेका पशुपालक कृषकलाई सहज रूपमा पशु स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विभिन्न पशुवस्तुको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि वितरण गरिएको थियो।

शिविरमा कुल ८१४ पशुवस्तुको उपचार गरिएको आयोजकले जनाएको छ। उपचार गरिएका पशुवस्तुमा ४६६ बाख्रा, ६८ गाईगोरु, ३० भैंसी तथा २५० कुखुरा रहेका छन्।
शिविरकाे उदघाटन कार्यक्रम वडानम्वर १ का अध्यक्ष लाेक राज नाथकाे अध्यक्षता र नगर उपप्रमुख संगिता कुमारी रावलकाे प्रमुख आतिथ्यता तथा वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटीकाे विशेष आतिथ्यमा भएको थियाे।
कार्यक्रममा नगरपालिकाका पशु प्राविधिक नेत्र बहादुर कठायत, दुर्गा प्रसाद जैसी र खेमराज खनालले पशुवस्तुको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। साथै पशुपालक कृषकलाई पशुपालन व्यवस्थापन, रोग नियन्त्रण र सरसफाइ सम्बन्धी जानकारी समेत दिइएको थियो।
स्थानीय कृषकहरूले यस्ता शिविरले गाउँमै सहज रूपमा सेवा प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन्। मंगलसेन नगरपालिका पशुसेवा शाखाले आगामी दिनमा पनि विभिन्न वडामा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

