तुर्माखाँद ४ का वडाध्यक्ष बिसीले आफूले निर्वाचनमा पाएको मतको दोब्बर संख्यामा बिरुवा रोपे

अछामः

Samajik New Add 2082

अछामको तुर्माखाँद गाउँपालिका–४ का वडाध्यक्ष पदम बहादुर बिसीले आफूले पाएको मतको दोब्बर संख्यामा बिरुवा रोपेका छन् । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा मंगलबार वडाका सार्वजनिक स्थानमा २,१३० ओटा बिरुवा रोपिएको हो ।

मतदाताको सम्मानसँगै ‘हरियाली तुर्माखाँद’अभियान अन्तर्गत वृक्षारोपण गरिएको वडाध्यक्ष पदमबहादुर बिसीले जानकारी दिए ।साथै ‍जलवायु परिवर्तनविरुद्धको अभियानलाई साथ दिन आगामी पाँच वर्षभित्र वडाको जनसंख्या बराबर बिरुवा रोप्ने लक्ष राखिएको उनले बताए ।

वडाले विद्यालय, स्वास्थ्यचौकी, हुलाक कार्यालयजस्ता सार्वजिनक क्षेत्रमा वृक्षारोपण गरेको छ । रोपिएका बिरुवाको संरक्षण गर्ने संस्थालाई प्रोत्साहन गर्न पुरुस्कारको व्यवस्था गरिएको वडाध्यक्ष बिसीको भनाइ छ ।

वडाध्यक्ष बिसीले वैशाख ३० मा सम्पन्न निर्वाचमा १०२८ मत पाएका थिए । उनले पदभार ग्रहण गरेपछि पहिलो बैठकबाट मतदाताको सम्मानस्वरूप वृक्षारोपण दिवसमा १०२८ ओटा बिरुवा रोप्ने निर्णय गरेका थिए ।

वृक्षारोपणसँग गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा ‘हरियो वन, नेपालको धन’ शीर्षकमा गाउँपालिकास्तरीय मावि तहका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । वडाले निमावि तहका लागि वडास्तरीय नृत्य प्रतियोगिता गरेको थियो । तुर्माखाँद गाउँपालिका वडानम्वर ४ का वडा अध्यक्ष बिसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।

-barakhari

Leave A Reply

Your email address will not be published.