बिहेपछि ‘आफ्नो’ घर जाने त हो नि !

Kirci Gyan Kendra

ज्योति मिश्र ।

Samajik New Add 2082

‘बिहेपछि आफ्नो घर गएसी बल्ल जता मन छ उता घुमेस है! बिहेपछि आफ्नो घर गएसी जसरी बस्न मन छ त्यसरी बसेस्!’
बिहेपछि आफ्नो घर!
हाम्रो समाजमा छोरीहरूलाई सुनाइने एक अनिवार्य वाक्य। सानैदेखि अरूको घरमा जानका लागि मानौं छोरीलाई सर्वगुण सम्पन्न गर्ने प्रक्रियामा सुनाइने एक वाक्य।

सुन्नमा सामान्य लाग्ने तर गहिरिएर सोच्दा कति जिम्मेवारी र चुनौती बोकेको एक वाक्य। सुन्दा सुन्दै ठूलो भइएको एक वाक्य। मानसपटलमा घर बनाएको एक वाक्य।

हामीलाई बुवाको घरबाट श्रीमानको घरसम्मको जिम्मेवारी बोध गराउने एक छोटो र सामान्य वाक्य। यतिले मात्रै त कहाँ पुग्छ र?
पछिपछि यस्ता अनेकन कुराहरू सुन्ने गरिन्छ जसले छोरी मान्छे अर्कैको घरको सम्पत्ति भएको कुरालाई इंगित गर्दछ।

यो वाक्यले पहिला सानो छँदा त्यति असर गरेन जति ठूलो भएपछि यो सँगैको मिल्ने खाले अर्को वाक्यले झसंग बनायो।
मिल्ने भनौं कि फिटिक्कै नमिल्ने भनौं कुन्नि तर जे भए पनि त्यो राम्रो त पक्कै पनि थिएन।

मैले आजसम्म छोरी मान्छेको आफ्नो घर बिहे पछिको, श्रीमानको घर हुन्छ भन्ने सामाजिक सत्यलाई झूटो सावित गर्ने वाक्य।
मष्तिष्कले अहिलेसम्म ग्रहण गरेको कुरामाथि ‘जानलेवा’ प्रहार गरेको वाक्य थियो त्यो।

एउटै सानो कुरा जसले मानौं अनेक प्रश्न र अनेक असन्तुष्टि बोकेको थियो।

एक थोपा वाक्य जसले मेरो अन्तरमनमा अनेकौं प्रश्नहरूको बाढी ल्याएको थियो।

हेर्नेले त्यो बाढीको धमिलो पानी मेरा आँखाबाट खसेका हेरे। त्यो वाक्य जसले मेरो विचारमाथि र समाजले बच्चैदेखि दिएको सिकमाथि प्रश्न चिन्ह खडा गरेको थियो।

त्यो सामान्य तर बिल्कुलै असामान्य वाक्य एउटी नयाँ दुलहीलाई भनिएको थियो।

त्यो वाक्य थियो- ‘अर्का घरको छोरी। खै आफ्नो घरमा कसरी बस्थ्यौ होली। गल्तीमात्रै गर्छे त बा! आफ्नो घरमा जे गर्यौ गर्यो, जसरी बस्यौ बस्यौ। यहाँ यसरी चल्दैन।’

मैले यो वाक्य बुझ्नै सकिनँ।

मेरो सोचले यो कुरा थेग्नै सकेन।

आखिर के हो त सत्य? त्यो जुन हामी केटी मान्छेलाई‌ संसार हेर्न थाल्ने बित्तिकैदेखि सुनाइन्छ, बुझाइन्छ? या त्यो जुन कि आफ्नो नयाँ संसार बसाउन थालेकी त्यो नयाँ बेहुलीलाई बिहेको अर्कै दिन सुनाइयो?

Saud Agro Kailash

के हो त सत्य? त्यो आफ्नो घरको सुन्दर सपना जहाँ मात्र आफ्नो मनको गर्नु भनेर हामीलाई यही समाजले सानैदेखि जबरजस्ती देखाउने गर्दछ या त्यो यथार्थ जुन त्यो नयाँ बेहुलीलाई बिहेको अर्कै दिन अन्माइएको र भित्र्याइएको घरबीच फरक छुट्याएर देखाइयो?

केलाई सही मान्नु? बेहुली बिहे गरेर जाँदा उसको आँखाबाट टिलपिल खसेका आँसु रोक्नलाई बोलिने ‘आफ्नो घर’ नामक झूट कि खुसीका अनेकन सपना बोकेर साथमा ल्याएकी त्यो बेहुलीको मुस्कान छिन्ने ‘अर्काको घरको’ भन्ने सत्य?

यस्तो दुइटा अनुहार भएको समाजको वास्तविकता मैले बल्लै थाहा पाउँदै थिएँ। थाहा पाउँदै थिएँ कि यथार्थ त अर्कै केही रहेछ।
थाहा पाउँदै थिएँ कि जति पनि जिम्मेवारी काँधमा भए पनि त्यो भारी बिसाउनका लागि आफ्नो कुनै छतमुनिको भर हुँदैन।

आफ्नो भन्न लायक कुनै त्यस्तो आँगन हुँदैन जहाँ खुसीले उफ्रिन सकियोस्।

आफ्नो भन्न लायक घरको कुनै त्यस्तो कुना हुँदैन जहाँ मन रोएको बेला आँखाको आँसु रूपी भार हलुको पार्न सकियोस्।

वास्तवमा त छोरी मान्छेको घरै नहुँदो रहेछ। उसको त सायद ठेगानामात्रै बनाइएको छ यो संसारमा जहाँ उसको ठेगाना कतिखेर परिवर्तन गरिन्छ उसैलाई थाहा हुँदैन।

बिहे अघिको ठेगाना र बिहे पछिको ठेगाना।

एउटा त्यो ठगाना जहाँबाट उसलाई श्रीमानको घर पठाउनभन्दा अगाडि प्रायः सोध्ने गरिँदैन र अर्को त्यो ठेगाना जहाँबाट पहिलाको घर अर्थात् माइती जान समेत बारम्बार सोध्नु पर्ने हुन्छ। ठेगाना मात्रै बदलिन्छ। बाँकी सब उस्तै हुन्छ।

घरिघरि मनलाई शान्त पान अनेकन बहाना खोजे पनि मन उसै गरी छियाछिया हुन्छ। मन उसैगरी प्रश्नहरूको बीचमा दोषी बनेर उभेको छ। मन अहिले पनि त्यही अड्केको छ!

हुनसक्छ म धेरै सोचिराखेको हुँला। हुनसक्छ मैले यति नसोच्नु पर्ने। तर सोचेर हेरौं त सोच्नमा के खराबी छ? सोचले मान्छेलाई समाधानसम्म पुर्याउँछ। यदि त्यस्तो परिस्थिति र त्यस्तो सोच, समाजको त्यस्तै दुइटा स्वरूपको सामना गर्नु पर्यो भने के गर्ने होला? अनि पहिलैदेखि आफूलाई सबल बनाएर राख्नु नै बेस हो नि त हैन र?

आफू पनि कसैको माथि भर नपरेर कसैको लागि भर हुनु कति सन्तुष्टदायी होला त हैन र?

सब त्यस्तै हुन्छन् भनेर भन्दिनँ म। कति उदाहरण मसामु राम्रो र धनी सोचका व्यक्तित्वको पनि छ। तर भएनन् भने के गर्ने? सकेसम्म आफ्नो व्यक्तित्व निखार्न त लाग्नुपर्‍यो।

आफ्नो पक्ष त बलियो बनाउन पर्‍यो नि है!

कमसेकम आफ्नो पनि घर बनाउन लायक त बन्नुपर्‍यो नि। नत्र त कहाँ लुकाउने आँसु, कहाँ बाँड्ने खुसी, कहाँ बिसाउने मनको भारी?

कुन होला त हाम्रो आफ्नो घर? कसलाई भन्ने त आफ्नो घर?

– सेतोपाटीबाट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.