खेल क्षेत्रको विकासका लागि राज्यले लगानी गर्नुपर्ने: संविधानसभा सदस्य कामी

१५ औं नगर स्तरीय राष्ट्रपति रनिङसिल्ड मङ्गलसेनमा सुरु

सविधानसभा सदस्य भैरे कामीले खेल क्षेत्रको विकासका लागि राज्यले उचित किसिमको लगानी गर्नुपर्ने बताउनुभएको छ । आज राज्यले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्दा खेल क्षेत्रको विकास र विस्तार हुन नसकेको भन्दै पर्याप्त लगानी बिना परिणाम हासिल गर्न नसकिने बताउनुभयो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका स्तरिय १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाले लगानीको अभावले खेलाडीहरू पलायन हुने गरेको, खेल प्रतिको आकर्षण पनि घटी रहेकाले यश तर्फ राज्य गम्भीर हुनपर्नेमा जोड दिनुभएको छ । खेलाडी पनि लगनशील हुन आवश्यक रहेकाले खेलाडीमा उत्साह थप्नका लागि अभिभावक र सरोकारवालाले ध्यानदिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले खेललाई व्यवसायीक ढंगले अघि बढाउनुपर्ने बताउनुभयो । कुनैपनि क्षेत्र जबसम्म व्यवसायीक बन्दैन तबसम्म त्यो क्षेत्रको विकास नहुने भएकाले खेललाई व्यवसायीक बनाउन आवश्यक रहेको बताउनुभयो ।

उदघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख पदम बहादुर बोहराले कुनैपनि ठाउँको परिचय र पहिचान दिलाउने क्षेत्र भनेकै खेल क्षेत्र भएकाले लगनशीलताका साथ खेल खेल्न आग्रह गर्नुभएको छ ।

राज्यबाट खेल क्षेत्रमा पर्याप्त लगानी हुन नसक्दा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको बताउनुभयो । आफ्नो परिचय र पहिचान झल्काउनका लागि उत्कृष्ट खेल प्रदर्शन गरि नतिजा ल्याउने गरि खेल्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारी, समाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, १४ वटै वडाका वडा  अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियोे ।

नगर उप प्रमुख संगीता रावल सोडारीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियोे । निरन्तर पानी परेपछि पहिलो दिन हुने खेलहरू रद्व भएको र शुक्रबार बाट नियमित खेलहरू संचालन हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.