अछामको कालिकामा जाल्वादेवी भलिबल कप सुरु (तस्बिर सहित)
एमाले जिल्ला ईञ्चार्ज बोहराले गरे उदघाटन
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ मा कालिकामा जाल्वादेवी भलिबल कप २०७८ सुरु भएको छ । कालिका युवा संजालको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको नेकपा एमाले अछामका इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले दिपावलिको शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितालाई सफल पार्न आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई छ । भलिबल खेलले स्थानीय स्तरको मात्रै नभएर सिङ्गो देश नेपालको शिर माथि उठाउन भूमिका खेलेको बताउनु भयो ।
स्थानीय स्तरमा हुने खेलकुदले समग्र देशको खेलकुद क्षेत्रको विकास हुने उहाँको भनाई छ । प्रतियोगितामा अछाम जिल्ला लगायतका छिमेकी जिल्लाबाट आएका भलिवल टिमले टिम दर्ता गरेका आयोजकको भनाई छ । कार्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रेडियो बान्निगढी, मङ्गल खबर डट कम र बान्निगढि टुडे डट कम मिडिया पार्टनरका रूपमा रहेका छन् ।
प्रतियोगिता उदघाटन समारोहका केही तस्बिरहरु हेरौंः

तस्बिरः धनराज साउद