सामाजिक विकास कार्यालय अछाम द्वारा विद्यार्थी भर्ना र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि अभिमुखिकरण



अछाम: विद्यार्थी भर्ना र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको आयोजना र मंगलसेन नगरपालिकाको सहकार्यका नगरपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।
विद्यालयमा विद्यार्थीहरुको नयाँ भर्नाका साथै गुणस्तरीय शिक्षाका बारेमा चर्को बहस गरिएको छ । विद्यार्थीको संख्या कमी, गुणस्तरीय शिक्षा र भौतिक लगायतको व्यवस्थानका बारेमा जनप्रतिनिधि र प्रधानाध्यापकहरुले सबैको सहभागिता रहनुपर्ने निष्कर्ष निकालिएको छ । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सरकारी निकाय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको संयुक्त अभियानले शिक्षा क्षेत्रको विकास हुने साझा भनाइ आएका छन् ।
मंगलसेनका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति पदमबहादुर बोहराले शिक्षा क्षेत्रमा एकअर्कामा दोष लाउन भन्दा सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय शिक्षा बाहिर रहेका बालबालिकाहरुलाई झिकाउ, टिकाउ, सिकाउ र गुणस्तरीय शिक्षा दिएर विकाउको उपाय अपनाएर शिक्षा प्रदान गर्नुपर्ने भनाइ नगरप्रमुख बोहराको छ । विद्यालयमा विद्यार्थीको संख्या कम भएपनि गुणस्तरीय शिक्षा दिन सकेमा अन्य स्थानका विद्यार्थी समेत आउने दावी बोहराको रहेको छ । “सबैलाई राम्रो शिक्षा चाहिएको छ, हामीले यहाँ गुणस्तरीय शिक्षा दिन सकेमा यहाँको वातावरणले काठमाडौंबाट पनि यहाँ आउन सक्छन् ।” बोहराले भन्नुभयो ।
कार्यक्रममा विशिष्ठ अथिति नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारीले सबै सरोकार पक्षले सक्रिय भएर लागेमा सरकारी विद्यालयको शिक्षा राम्रो बनाउन सकिने भनाई राख्नुभयो । विद्यालय नआउने बालबालिकाको कारण पत्ता लाएर उनीहरुको समस्या समाधानतिर जानुपर्नेमा उपप्रमुख रावलको भनाई छ । पछिल्लो समयमा माध्यामिक विद्यालयमा रहेका बालविकास केन्द्र असाध्यै राम्रो भएको भन्दै विद्यालयलाई समेत राम्रो बनाउन सकिने भनाइ राख्नुभयो । “बालविकास केन्द्रबाटै राम्रो बनाएर जानुपर्छ, तल्लो तहमा लगानी राम्रो भयो भने मात्रै माथि राम्रो हुन्छ ।” उपप्रमुख रावलले भन्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशी, मंगलसेन नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बृखबहादुर बोगटी, षोडशा माविका प्रधानाध्यापक बृकेशसिंह बोगटीले मन्तव्य राख्नुभएको थियो । सामाजिक विकास कार्यालयका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा विद्यालय भर्ना अभियान तथा नि:शुल्क शिक्षाका प्रावधान बारेमा मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले प्रस्तुति गर्नुभएको थियो । मंगलसेन नगरपालिकाका प्राविधिक सहायक दीपक भण्डारीले स्वागत गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक नरबहादुर रावल, कर्णबहादुर शाह लगायतले सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मान बहादुर बुढा, मंगलसेन नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सामाजिक विकास कार्यालय र मंगलसेन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । यस्तो अभिमुखिकरण कार्यक्रम जिल्ला सबै स्थानीय तहमा तय गरिएको सामाजिक विकास कार्यालयका प्रमुख रावलको भनाइ रहेको छ ।

