मंगलसेन ३ कुटीमा ११ दिवसिय शिव महापुराण ज्ञान महायज्ञ सम्पन्नः शिवालय क्षेत्रको विकासका लागि सहयोग गर्ने नगरप्रमुख बोहराको भनाई
महायज्ञमा १५ लाख ३० हजार बढी दान संकलन, ११ लाख २६ हजार अनुमानित खर्च र ४ लाख बढ बचतको अनुमान


होम साउद, अछाम २९ बैशाखः

मंगलसेन ३ कुटीमा यहि बैशाख १९ गतेबाट सञ्चालन गरिएको ११ दिवसिय शिव महापुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ । महायज्ञको एक समारोहका विच मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

प्रमुख कथाबाचक पण्डीत मदनराज उपाध्यायले ११ दिनसम्म पुराण बाचन गर्नुभएको महायज्ञमा विभिन्न व्यक्तिहरुले नगद दान तथा संरचना निर्माणको घोषणा समेत गरेका छन । जसमा महायज्ञ अवधिभर कुल १५ लाख ३० हजार ७६ रुपैयाँ दान संकलन भएको तथा कुल ११ लाख २६ हजार अनुमानित खर्चको विवरण समेत सार्वजनिक गरिएको थियो । यस्तै महायज्ञबाट नर्मदेश्वर शिवालय परिसरमा भैरब मन्दिर निर्माण र नन्दि स्थापनाका लागि दान दाताहरुबाटै कार्य प्रारम्भ गरिएको छ भने होम कुण्ड र गेट निर्माण कार्य सम्पन्न भईसकेको छ । साथै शिवालय क्षेत्रको विकासका लागि मंगलसेन नगरपालिका सहित वडानम्वर ३ र ५ सहित विभिन्न सरकारी कार्यालयहरुबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

महायज्ञ मुल आयोजक समिति संयोजक तथा शिवालय क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा भएको समापन समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले शिवालय क्षेत्रको विकासका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । धार्मीक आस्था र धरोहरको रुपमा रहेको नर्मदेश्वर शिवालय निकै ऐतिहासिक स्थल भएकोले यसको उचित संरक्षण र विकास संगै प्रचारप्रसार गर्दै लैजानुपर्ने बताउनुभयो । ११ दिनसम्म सञ्चालित महायज्ञबाट सिकेको ज्ञानलाई दैनीक व्यावहारिक जीवनमा लागु गर्न सकेमा जीवनमा सफलता मिल्ने उहाँको भनाई छ ।
समापन समारोहमा मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल र अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु बिशिष्ट अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा सवै राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका जिल्ला उपसभापति नयाँराम बजगाई र सवै वडा अध्यक्षहरुको तर्फबाट वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा दान दाताहरुलाई सम्मान गरिनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो भने शिवालय क्षेत्रमा संरचना निर्माणको घोषणा गर्ने प्रमुख दाताहरुलाई विशेष सम्मान गरिएको थियो । यस्तै प्रमुख बाचक, कलाकार टिम, संकल्प कर्ता, सञ्चार माध्ययम र कार्यक्रम व्यवस्थापन टिमलाई समेत सम्मानित गरिएको थियो ।
महायज्ञ मुल आयोजक समिति सदस्य पदम सिंह भाटले स्वागत मन्तव्य राख्नुभएको समापन समारोहमा आर्थिक उपसमिति संयोजक बृकेश सिंह बोगटीले प्रारम्भिक प्रतिवेदन तथा आय व्ययको विवरण सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामी र सदस्य होम बहादुर साउदले गर्नुभएको थियो ।
महायज्ञको प्रारम्भिक प्रतिवेदन अनुसार १५ लाख ३० हजार ७६ रुपैयाँ दान संकलन भएकोमा ११ लाख २६ हजार खर्चको अनुमान गरिएको छ भने ४ लाख ४ हजार ७६ रुपैयाँ बचत हुने अनुमान गरिएको छ । नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी स्थापना, भैरव मन्दिर निर्माण, अन्य भौतिक संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञ निकै व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको सम्पूर्ण आय व्ययको बिस्तृत विवरण जेठ ३ गते शनिबार सार्वजनिक सुनुवाई मार्फत जानकारी गराईने तथा सोहि दिनबाट कलश वितरण कार्य सुरु गरिने मुल आयोजक समितिले जनाएको छ ।
