शिक्षा क्षेत्रकाे समस्या समाधानका लागि शिक्षक बुद्धिजीवी जाग्नुपर्ने: नगरप्रमुख बाेहरा
मंगलसेनमा शिक्षकहरुका लागि असल अभ्यास आदानप्रदान सम्वन्धि कार्यक्रम सञ्चालन

हाेम साउद, अछाम, १५ जेठ:
शिक्षकहरुका लागि शिक्षण सिकाईसंग सम्वन्धित नवप्रवर्तन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम मंगलसेनमा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजना तथा अछाम बहुमुखी क्याम्पस र कैलाश बहुमुखी क्याम्पसकाे सहकार्यमा कार्यक्रम गरिएको हाे ।


मंगलसेन नगरपालिका उपप्रमुख तथा कैलाश बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष संगिता कुमारी रावलकाे अध्यक्षतामा भएको उदघाटन समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियो । कार्यक्रममा बाेल्दै बाेहराले समय अनुकुल आफुलाई अपडेट गर्न सकेन भने अस्तित्व बचाउन नसकिने बताउनुभयो । शिक्षकहरूले तालिम मार्फत सिकेका कुराहरु व्यवहारिक जीवनमा प्रयाेग गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रका समस्याको पहिचान र समाधानका लागि शिक्षक बुद्धिजीवीहरु जाग्नुपर्ने उहाकाे भनाइ छ ।
कार्यक्रमका बिशिष्ट अतिथिमा प्रशिक्षक तथा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. माेहन सिं साउद र टिकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. ज्ञानु पाैडेल रहनुभएकाे थियोे । कार्यक्रममा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्नुभएकाे थियो ।
अछाम क्याम्पसका निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढाले मन्तव्य राख्नुभएको कार्यक्रममा अछाम स्थित सम्पूर्ण क्याम्पसबाट प्राध्यापकहरु र विभिन्न विद्यालयबाट अंग्रेजी शिक्षकहरुकाे सहभागीता रहेकाे छ ।
शुक्रबारसम्म चल्ने कार्यक्रमकाे उदघाटन समारोहकाे सञ्चालन अछाम बहुमुखी क्याम्पसका सहप्राध्यापक झपट कुमार केसीले गर्नुभएको थियो ।


