
टेक बहादुर थापा

बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम मंगलसेन ९ मा रहेको मंगला नेरा मावि ओलीगाउँमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि सरोकारवालाहरुले बालविवाह अन्त्यका लागि आ आफ्नो क्षेत्र बाट सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाएका छन। नगरपालिकाले संचालन गरेको यो अभियान निकै राम्रो भएको भन्दै यस्ता रचनात्मक गतिविधिलाई पहिलो प्राथमिकता दिन सुझाव समेत दिएका छन ।
कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले बालविवाह हाम्रो समुदायमा समस्याकै रुपमा रहेको हुदा यो समस्यालाइ समाधान गर्नका लागि स्थानीय सरकार मात्र नभई समुदायमा रहेका हरेक सचेत नागरिक लाग्नुपर्नेमा जोड दिएका छन । यस्ता अभियानहरुमा हरेक नागरिक जोडीन आवश्यक रहेको भन्दै विद्यार्थिहरुले पनि वडा तथा टोल स्तरमा यस्ता कार्यको प्रचार प्रसारमा जोड दिन अधिकांशको सुझाव थियो । विद्यालयमा भएको बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्ने विद्यार्थिहरुले बालविवाहका बिरुद्ध आफु पनी लाग्ने र आफ्नो समुदायमा पनी कोही कसैले बालविवाह गरेको पाईए खबदारी गर्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा प्रमुख वक्क्ताको रुपमा रहनु भएका मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले विद्यालयका बालबालिकाहरुलाई अब पढाइ संग संगै यस्ता सामाजिक कुरीतिका विरुद्धपनि आवाज उठाउन आग्रह गर्नु भएको थियो । यस्ता कुरीतिको अन्त्य गर्न बालबालिकाको अझ महत्वपूर्ण भुमिका रहने भएकाले बालबालिकाहरुले आफु बाट नै अभियानका लागि पहल गर्न आवश्यक रहेको उप प्रमुख रावलले बताउनु भयो ।
विद्यालयमा अहिले पनि केही कमजोरी रहेको पाईएकाले यस्ता कमजोरीहरु तत्काल सुधार गरेर लैजान विद्यालय प्रशासनलाई निर्देशन दिनु भयो । नगरपालिकाले पुन विद्यालयको अनुगमन गर्ने पाटोलाई अघि बढाउने भएकाले यो वर्ष पनि धेरै विद्यालयमा मर्ज र डाउनसाइज गर्नुपर्ने अवस्था देखिएकाले यस्ता कुरालाई ध्यानमा राखेर शैक्षिक गतिविधि अगाडी बढाउनु पर्ने उप प्रमुख रावलको भनाई थियो ।
कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले विद्यालय सुधार गर्ने पहिलो जिम्मेवारी विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासनको भएकाले यो कुरामा गम्भिर बन्न व्यवस्थापन समिति र विद्यालय प्रशासनले ध्यान दिन सुझाव दिनु भयो । एकले अर्कालाई आरोप लगाएर पन्छिन नहुने भन्दै उहाले आफ्नो परिभाषित जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले सामुदायिक विद्यालयको अवस्थामा पछिल्लो समयमा केही सुधार हुन थालेको भन्दै यतिले मात्रै सन्तुष्ट हुने आधार नहुदा अझै थप मेहनत गर्न सुझाव दिनु भएको छ । मंगला नेरा मावि यस क्षेत्रकै राम्रो विद्यालय भएको रुपमा आफुले हेरेको भन्दै यसलाई नमुना बनाउने गरि मेहनत गर्न विद्यालय परिवारलाई सुझाव दिनु भएको छ ।
कार्यक्रममा वडा न ८ का अध्यक्ष तथा सुशासन समितिका संयोजक ज्ञानेन्द्र बहादुर बोहराले विद्यालय जस्तो पवित्र संस्थामा लापरबाही गर्ने जोकोहीलाइ पनी कार्बाही गर्नुपर्ने बताउनु भयो । जिम्मेवारी लिएका जिम्मेवार व्यक्तिले आफ्नो प्रमुख काम के हो भन्ने कुरालाई नबुझ्दा आज यस्ता सामुदायिक संस्थाहरुको काम कार्बाही राम्रो नभएकाले आगामी दिनमा सरोकारवालाले दिएका सुझावलाई आत्मसाथ गर्न आग्रह गर्नु भएको छ ।
वडा न ९ अध्यक्ष पदम बहादुर बोहराले सरकारको नुन खाएर आफ्नो प्रमुख जिम्मेवारी निर्वाह नगर्ने शिक्षक तथा कर्मचारीका विषयमा आफु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भएको छ ।
बालविवाह अन्त्यका लागि बालबालिकाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा कक्षा १० का छात्र दिलीप देवकोटा प्रथम हुदै पालिका स्तरमा हुने बक्तृत्वकला प्रतियोगिताको लागि छनौट हुनु भएको छ ।
कार्यक्रममा सहभागि विद्यार्थिहरुले आफुले विद्यालयमा भोगीरहेका समस्या र चुनौतिका बारेमा आ आफ्नो गुनासो राखेका थिए भने सहभागि सरोकारवालाले विद्यार्थिले गरेका गुनासाहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रधानाध्यापक मिन बहादुर भण्डारीले विद्यर्थिहरुले सोधेका प्रश्नको जवाफ दिदै विद्यालयको तह बाट सम्बोधन गरिने समस्याहरु चाडै समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हिक्मत बहादुर रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक धर्मराज रावलले गर्नु भएको थियो ।


