
चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा क्वाङ्सी चुआङ स्वायत्त क्षेत्रीय जनसरकारका पूर्व उपाध्यक्ष छिन रूपेईलाई दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । सिचुवान प्रान्तको एक अदालतले २१ कराेड ६० लाख चिनियाँ युआन घुस लिएको अभियोगमा हिजो उक्त सजाय सुनाएको छ ।

पछिल्लो घटनालाई चिनियाँ राष्ट्रपति सि जिनपिङको नेतृत्वमा जारी व्यापक भ्रष्टाचार विरोधी अभियानको एक हिस्साको रुपमा लिइएको छ । चीनमा पछिल्लो एक दशकमा भ्रष्टाचारमा संलग्न हजारौं अधिकारीलाई कानुनी दायरामा ल्याइएको छ । अदालतको आदेशमा रूपेईले विभिन्न सरकारी लाभ, ठेक्का, पदोन्नति र नीति तर्जुमाको क्रममा सम्बन्धित कम्पनी र व्यक्तिबाट अवैध रूपमा आर्थिक लाभ लिएको पुष्टि भएको उल्लेख छ ।

चीनको पिपुल्स डेलीका अनुसार उनीमाथि १० वर्षभन्दा बढीको अवधिमा भ्रष्टाचार अभ्यास गरेको प्रमाणहरु प्रस्तुत गरिएको थियो । उनले घूस रकम विभिन्न माध्यमबाट नगद, बैंक खातामा, लगानीको रूपमा र बहुमूल्य सम्पत्ति मार्फत संकलन गरिएको बताइएको छ ।

के हो दुई वर्ष स्थगनसहितको मृत्युदण्ड ?
चिनियाँ कानुन अनुसार, मृत्युदण्डमा दुई वर्षको स्थगन भनेको दोषीलाई तुरुन्त फाँसीको सट्टा दुई वर्ष आचरण नियाल्नु हो । उक्त अवधिमा दोषीले राम्रो आचरण देखाएमा मृत्युदण्डलाई आजीवन कारावासमा परिवर्तन गर्न सकिन्छ ।
को हुन् छिन रूपेई ?
६५ वर्षीय उनी क्वाङ्सी चुआङ स्वायत्त क्षेत्रीय जनसरकारका उपाध्यक्षको रूपमा २००८ देखि २०१८ सम्म कार्यरत थिए । त्यसअघि पनि विभिन्न उच्च सरकारी निकायमा कार्यरत थिए । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य उनको राजनीतिक जीवन निकै प्रभावशाली मानिन्थ्यो । तर, सन् २०२२ मा अनुशासनहीन र भ्रष्टाचारको आरोप लागेपछि अनुसन्धान थालिएको हो ।
हिजोको उक्त फैसलालाई चीनको उच्च तहमा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको सन्देशको रुपमा लिइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले उच्च अधिकारी र अन्य तहका सबै कर्मचारीलाई लक्षित गर्दै भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्दै आएको छ । – Janaaastha
