
मङ्गलसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि षाेडशादेवी माध्यमिक विद्यालय मङ्गलसेनले उचालेको छ। प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र २ कास्य गरी कुल १८ पदक जित्दै षाेडशादेवी माविले लगातार तेस्रो पटक नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड उपाधि हात पार्न सफल भएको हो। तेस्रोपटक निरन्तर उपाधि जितेसँगै विद्यालयले रनिङसिल्ड पनि स्थायी रूपमा कब्जा गरेको छ।

प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ७ कास्य गरी कुल १५ पदकसहित गङ्गा माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो। यस्तै समान २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८–८ पदकसहित कालिका माध्यमिक विद्यालय र मङ्गला नेरा माध्यमिक विद्यालय संयुक्त तेस्रो भए।

चौथो स्थानमा रहेको कुन्ती माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत र २ कास्य गरी ७ पदक जित्यो। पाँचौँ भएको अन्नपूर्ण माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत र ४ कास्यसहित ७ पदक हात पार्दा छैटौँ स्थानमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक जितेको छ।
यस्तै सातौँ स्थानमा रहेको अछाम बहुमुखी क्याम्पसले १ स्वर्ण, १ रजत र १ कास्य गरी ३ पदक, आठौँ स्थानको पार्वती माध्यमिक विद्यालयले १ स्वर्ण र १ कास्य गरी २ पदक, नवौँ स्थानको राधा माध्यमिक विद्यालयले ३ रजत र ४ कास्य गरी ६ पदक तथा दशौँ स्थानको यशोधरा माध्यमिक विद्यालयले ३ रजत र २ कास्य गरी ५ पदक जितेको छ। अङ्कतालिकाको पुछारमा रहेको शिशु सुधार माध्यमिक विद्यालयले १ कास्य पदकमा चित्त बुझाएको छ।
मङ्गलबार सम्पन्न प्रतियोगिताको समापन समारोह नगरपालिका समाजिक विकास समितिका संयोजक बिर्खबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा नगरप्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख संगीता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समारोहमा विजयी खेलाडी, विद्यालय तथा निर्णायकहरूलाई प्रमुख अतिथि लगायत अतिथिहरूले कप, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन समारोहको सञ्चालन नगरपालिका शिक्षा शाखा प्रमुख दीपकबहादुर भण्डारीले गर्नुभएको थियो।

