कार्यालयसँग सम्वन्धित समाचारप्रति अछाम जिल्ला अस्पतालकाे आपत्ति

समाचार तथ्यहिन र भ्रमपूर्ण भएको भनाइ

अछाम, मङ्गलसेन: अछामको जिल्ला अस्पतालले हालै केही अनलाइन पत्रिकामा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती समाचार भ्रामक र तथ्यहीन भएको जनाएको छ। अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको गतिविधिबारे गलत सूचना फैलाइएको दाबी गरेको हो।

Samajik New Add 2082

अस्पतालका अनुसार केही अनलाइन माध्यममा अस्पतालको करिब १८ लाख ७२ हजार ५ सय ३१ रुपैयाँ राजस्व दाखिला नभएको भन्ने समाचार प्रकाशित भएको थियो। तर उक्त रकम अस्पतालका राजस्व संकलनमा जिम्मेवार कर्मचारी हेल्थ असिस्टेन्ट हितेश खड्काको युजर आईडीबाट संकलन भई अस्पतालको खातामा जम्मा हुनुपर्नेमा नगरेको देखिएको र यस विषयमा सम्बन्धित व्यक्तिलाई रकम तत्काल दाखिला गर्न पटक–पटक पत्राचार गरिएको जनाइएको छ। रकम असुलीका लागि प्रचलित कानुनी प्रक्रिया अघि बढाइएको अस्पतालले स्पष्ट पारेको छ।

यस्तै ४० लाख रुपैयाँ बराबरको औषधि गायब भएको भन्ने आरोपसम्बन्धी समाचार पनि तथ्यहीन रहेको अस्पतालको भनाइ छ। अस्पतालले खरिद गरेका सबै औषधि नेपाल सरकारको अनलाइन प्रणाली eLMIS/PAMS मा दर्ता गरी फार्मेसीमा हस्तान्तरण गरिएको र मिडास सफ्टवेयरमार्फत बिक्री वितरण भइरहेको जनाएको छ। केही औषधिको म्याद सकिने वा खरिद तथा बिक्रीको परिमाण फरक देखिन सक्ने भएकाले यस विषयमा छानबिन गर्न समिति गठन गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले आफ्नो गतिविधि सुदूरपश्चिम प्रदेश सरकारको संरक्षकत्वमा प्रचलित कानुन अनुसार सञ्चालन भइरहेको बताउँदै प्रमाण बिना भ्रामक समाचार प्रकाशित गर्नु उचित नभएको जनाएको छ। अस्पतालले सार्वजनिक रकमको प्रत्येक रुपैयाँको हिसाब अभिलेख कार्यालयमै सुरक्षित रहेको पनि जनाएको छ।

यसैगरी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सरुवा गरिएको भन्ने समाचार पनि गलत भएको अस्पतालले जनाएको छ। अस्पतालमा रिक्त रहेको पदमा सुदूरपश्चिम लोक सेवा आयोगको सिफारिसअनुसार नयाँ नवौं तहका मेडिकल सुपरिटेन्डेन्टको नियुक्ति भएको र अस्पताल व्यवस्थापनमा सुधारका लागि कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, अस्पतालको स्टोरबाट औषधि बाहिर निजी क्लिनिकमा पठाइएको भन्ने आरोप पनि प्रमाणविहीन रहेको अस्पतालले दाबी गरेको छ। स्टोर प्रमुख र सम्बन्धित कर्मचारीको प्रत्यक्ष निगरानीमा औषधि व्यवस्थापन भइरहेको र कुनै पनि प्रतिवेदन वा निरीक्षणबाट यस्तो तथ्य पुष्टि नभएको अस्पतालले जनाएको छ।

अस्पतालले आधारहीन समाचारले कर्मचारीको चरित्र हत्या गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने भएकाले यस्ता गतिविधि नगर्न आग्रह गरेको छ। साथै, प्रमाणबिना प्रकाशित समाचारका कारण प्रभावित कर्मचारी कानुनी उपचारका लागि अघि बढ्ने पनि अस्पतालले चेतावनी दिएको छ।

Leave A Reply

Your email address will not be published.