अछामका सडक तथा पुल विकासका लागि सडक विभागसँग छलफल

Kirci Gyan Kendra

काठमाडौं, ८ चैत:-
अछाम जिल्लाको सडक तथा पुल पूर्वाधार विकासलाई तीव्रता दिन सडक विभागसँग उच्चस्तरीय छलफल गरिएको छ। सडक विभागका महानिर्देशक विजय जैसी तथा उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख ललिजन खनालसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद टीका संग्रौला (ज्वाला) सहित रास्वपा अछामको टोलीले विशेष संवाद गरेको हो।

Samajik New Add 2082

भेटका क्रममा टोलीले अछामको समग्र पूर्वाधार विकासका लागि विभिन्न महत्वपूर्ण मागहरू समेटिएको लिखित प्रस्ताव पेश गरेको छ। प्रस्तावमा सेती लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै दुई वर्षभित्र अछामलाई कैलालीसँग जोड्नेगरी पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ। त्यस्तै, चिसापानी–जंगलघाट–गैरीटाँड सडक खण्डलाई ‘हरि भण्डारी राजमार्ग’ नामाकरण गरी स्तरोन्नति गर्नुपर्ने उल्लेख गरिएको छ।

Saud Agro Kailash

यसैगरी, लामो समयदेखि अल्झिएको जंगलघाट पुल निर्माणलाई ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा तत्काल अघि बढाउन, डुङ्गेश्वर–रहफ जोड्ने स्थायी पक्की पुल निर्माणसँगै तत्कालका लागि बेलीब्रिज व्यवस्था गर्नुपर्ने माग गरिएको छ। कर्णाली करिडोरअन्तर्गत रहफ–बेलखेत–कालेकाँडा–खुलालु सडक चालु आर्थिक वर्षमै अघि बढाउन पनि जोड दिइएको छ।

ढकारी क्षेत्रलाई सेती लोकमार्गसँग जोड्ने छोटो सडक निर्माण, रामारोशन क्षेत्रलाई जिल्लाका विभिन्न पालिकासँग जोड्ने पर्यटकीय सर्किट सडक निर्माणका लागि आवश्यक बजेट तथा योजना सुनिश्चित गर्नुपर्ने विषय पनि प्रस्तावमा समेटिएको छ। साथै, अन्य रणनीतिक सडकहरू संघीय सरकारमार्फत सडक विभागअन्तर्गत निर्माण गर्नुपर्ने माग समेत राखिएको छ।

उक्त भेटमा नमराज न्यौपाने, जीवन शाह, हिमाल उपाध्याय, कमल शाही लगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो। छलफलपछि अछामको पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको जनाउँदै युवा नेता नमराज न्यौपानेले सडक र पुलको पहुँच विस्तारमार्फत जिल्लाको समग्र विकास र रूपान्तरणमा निरन्तर लागिरहने बताउनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.