खप्तडमा प्रजनन् स्वास्थ्य शिविरः २०० महिलाले पाए स्वास्थ्य सेवा
कमल रावल, भदौ २८ अछाम ।
साफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा २ दिने प्रजनन स्वास्थ्य शिविर सहित खाद्यान्न, सरसफाई र स्वास्थ्यका सामाग्री वितरण गरिएको छ । भदौ २७ र २८ गते गरि २ दिनसम्म चलेको प्रजनन स्वास्थ्य शिविरमा खप्तडका करिब २ सय जना महिलाले स्वास्थ सेवा र परामर्श लिएका छन ।
स्वास्थ्य शिविरमा ६ जना महिलाको पाठेघर खस्ने समस्या देखिएकाले अन्यत्र उपचारका लागि छनोट गरिएको छ । कम उमेरमा बाल विवाह गरे बच्चा जन्माउदा महिलामा आग खस्ने समस्या बढि देखिएको आयोजक संस्था समबिकास नेपाल अछामका अध्यक्ष पशुपती कुवरले बताउनु भयो ।
साँफेबगर नगरपालिका तथा जिल्लाको दुर्गम वडा खप्तड भएकाले महिलाले लगाउने रिंग प्रेसरी समेत ३ महिनामा परिवर्तन गर्नु पर्नेमा १ बर्षसम्म समेत परिवर्तन नगरेका ८ जना महिलाको पाठेघरमा रिंग प्रेसरी राखिएको कुवरले जानकारी दिनु भयो । सोही शिविरमा ४० जना सुनौला हजार दिनका आमालाई खाद्यान्न सहित बच्चाका लागि न्यानो भोटो, स्वास्थ्य, सरसफाईका सामाग्रि र ४० जना महिनावारि हुने उमेर समुहका किशोरी तथा महिलालाई महिनावारी हुदा सरसफाइ र स्वास्थ्यमा आवश्यक पर्ने हाईजिन किट वितरण गरिएको छ ।
सुनौला हजार दिनका आमालाई करिब ८ हजार र महिनावारि हुने उमेर समुहका किशोरी तथा महिलालाई २५ सय रुपैयाँ बरारबको सरसफाइ र स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । २ दिनसम्म चलेको शिविरको सोमबार साफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडका वडा अध्यक्ष प्रकाश रानाले समापन गर्नु भएको थियो ।
समबिकास नेपाल अछामको आयोजना र नेपाली मुलका अष्ट्रेलिया बस्दै आएका महिलाको समूह नारी कुन्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा भएको शिविरमा जिल्ला अस्पताल अछामका बिशेषज्ञ डाक्टर सुरेश ताम्राकार, डाक्टर एलिना बिश्वकर्मा सहित जिल्ला अस्पताल र खप्तड स्वास्थ्य चौकिका गरि १५ जना स्वास्थ्य कर्मिले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।