साँफेबगर नगरपालिकामा गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम कार्यक्रम जारी
साँफेबगर नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिर्मलादेवि बुड्थापाले जानकारी दिनुभयो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउनु कुराबारे चेतना फैलाउने उहाँको भनाई रहेको छ ।
कार्यक्रम अन्र्तगत हिजो साँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरीएको हो । २४ जना गर्भवतीलाई कोशेली वितरण गरिएको छ । उक्त कार्यक्रम साँफेबगर नगरपालिकाले अघिल्लो वर्षबाट सुरुवात गरेको हो । गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सहभागि साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले नगरबाट प्रदान गरिएको पौष्टिक आहारलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम अन्तरगत १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, माक्स, नुन वितरण गरिएको नगरपालिकाको पशु शाखाका प्रमुख पदम थापाले जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर उपप्रमुख बुड्थापाको भनाई रहेको छ ।
भौतिक निर्माण मात्र विकास नभई महिला र शिशुको स्वस्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएकाले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवतीलाई उपप्रमुख बुड्थापाले आग्रह गर्नुभयो । गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम वडा नं १२ का वडा अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।