गर्भवती महिलालाई जिल्ला अस्पताल पुर्याउनुपरे १५ सय सहुलियत खर्च दिने, आईतबार समेत कार्यालय खाेल्ने मंगलसेन ६ काे निर्णय
टेकराज भण्डारी : मंगलसेन नगरपालिका वडा नम्बर ६ ले गर्भवती महिलाका लागि राहत पुग्ने निर्णय गरेकाे छ । वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा बसेकाे बैठकले वडाका कुनैपनि गर्भवति महिला सुत्केरी हुनका लागि जिल्ला अस्पताल पुर्याउनुपर्दा सहुलियत स्वरुप १५ सय रुपैँया उपलब्ध गराउने निर्णय गरिएको हाे ।
कुनै पनि गर्भवती महिला रकमकाे अभावका कारण अस्पताल जान नसक्ने अवस्था नआओस् र आमा र बच्चाको स्वास्थ्य जटिल हुने अवस्था नहाेस् भनेर उक्त निर्णय गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयाे ।
आफुले चुनावकाे बेला गरिएकाे प्रतिबद्धता अनुसार महिला तथा बालबालिकाकाे स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै वडाकाे पहिलाे बैठकबाटै उक्त निर्णय गरिएको उहाँको भनाइ छ ।
बैठकले सेवाग्राहीकाे माग तथा आवश्यकतालाई मध्येनजर गर्दै आईतवार पनि कार्यालय सेवा सञ्चालन गर्ने निर्णय गरेकाे छ । आईतवार बिहान १० देखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्ने निर्णय गरेकाे छ ।
यसैगरी बैठकले वडामा रहेका विद्यालहरु गंगा माविमा वडा अध्यक्ष देबेन्द्रप्रसाद भण्डारी, मनकामना आविमा वडा सदस्य दुर्गाप्रसाद भण्डारी र मालिका आविमा जन्मराज भण्डारीलाई पदेन सदस्य ताेक्ने निर्णय गरिएको छ ।
बैठकले विपन्न कृषकलाई बाख्रापालनका लागि सिफारिस गर्ने, फिल्ड सर्भेयर छनाेट गर्ने, वडा रहेका बालविकास केन्द्रका लागि शैक्षिक सामग्री माग गर्ने निर्णय समेत गरेकाे छ । बैठकले गत बैशाख ३० गते सम्पन्न निर्वाचनलाई सफल पार्न सहयाेग गर्ने सम्पूर्ण सराेकारवाला तथा मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेकाे वडाअध्यक्ष भण्डारीले जानकारी दिनुभयाे ।
बैठकमा वडा सदस्य दुर्गाप्रसाद भण्डारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा नेपाली, कर्मचारी लगायतको सहभागीता रहेको थियाे ।