नेपालसँग सहकार्य गर्ने पाकिस्तानको चाहना

काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।

Samajik New Add 2082

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग हिजाे मङ्गलवार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामाबादमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवम् भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता छन् भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली नागरिककाे निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्र सङ्घलगायत अन्य महत्त्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवम् साहसिक पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यस निम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गर्नुभयो ।

कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवम् आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गर्नुभयो ।

 

-ujallo

Leave A Reply

Your email address will not be published.