अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले प्योङयाङको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई वेवास्ता गर्दै उत्तर कोरियाले शुक्रबार ती ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाको सेनाले शुक्रबार मध्याह्न उत्तरको पूर्वी तटीय टोङगचोन क्षेत्रबाट दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताएको छ । दुवै क्षेप्यास्त्र अधिकतम २४ किलोमिटर उचाइमा करिब दुई सय ३० किलोमिटर उडेका जनाएको छ । सोलले विज्ञप्ति निकालेर प्रक्षेपणको कडा शब्दमा निन्दा गरेको छ । उसले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले कोरियाली प्रायद्वीपको क्षेत्रीय शान्तिमा आँच पु¥याएको तथा क्षेप्यास्त्र निर्माणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको बताएको छ ।

‘यूएस इन्डो प्यासिफिक कमाण्ड’ले क्षेप्यास्त्र प्रक्षेपणबाट उत्तर कोरियाको अवैध आणविक हतियार र ‘ब्यालिस्टिक मिसाइल’ कार्यक्रमको अस्थिर प्रभाव प्रस्तुत भएको टिप्पणी गरेको छ भने जापानी रक्षा मन्त्रालयले प्रक्षेपण पत्ता लगाइएको तथा प्रयोग गरिएका क्षेप्यास्त्रका प्रकार र तिनीहरूको उडान क्षमताको विश्लेषण भइरहेको बताएको छ ।

Everest Incitute

दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार सोलका शीर्ष आणविक दूतले प्रक्षेपण लगत्तै आफ्ना अमेरिकी र जापानी समकक्षीसँग बेग्लाबेग्लै फोन वार्ता गरेका तथा उत्तर कोरियालाई हतियार परीक्षण रोक्न र वार्तामा फर्कन आह्वान गरेका थिए । वार्ताका क्रममा उनले त्रिपक्षीय समन्वय सुदृढ गर्न सहमत भएको जनाएका थिए ।

आगामी साता दक्षिण कोरिया र अमेरिकी वायु सेनाले बृहत्स्तरमा संयुक्त तालिम सञ्चालन गर्ने योजना बनाइरहेका बेला उत्तरकोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले सोल र वासिङ्टनको यस्तो नियमित अभ्यासलाई आफूमाथि आक्रमण गर्ने अभ्यासको रूपमा लिएको छ ।

आगामी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुने ‘भिजिलेन्ट स्टर्म’ हवाई अभ्यासमा एक सय ४० दक्षिण कोरियाली युद्धक विमानहरू र एक सय अमेरिकी विमान समावेश छन् । एफ ३५ जस्ता अत्याधुनिक लडाकु विमान पनि अभ्यासमा समावेश गरिएका छन् ।

कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण रोक्नुपर्ने तथा दक्षिण कोरियासहित उसका सहयोगी राष्ट्रले पनि उत्तेजना फैलिने गतिविधि गर्न नहुनेमा सुरक्षा विश्लेषकहरूले जोड दिएका छन् । उनीहरूले अमेरिकासहितका सहयोगीका कठोर गतिविधिले प्योङयाङलाई फेरि आणविक हतियार परीक्षणमा बाध्य बनाउन सक्ने चेतावनी दिएका छन् ।

-ratopati

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.