चुनाव प्रचार गर्न डडेल्धुराका ७ ठाउँमा आमसभा गर्दै देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन् ।

बुधबार कैलालीको धनगढी पुगेका देउवा आज त्यहाँबाट डडेल्धुरा जाने कार्यक्रम छ। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ ।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज मह्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तो कात्तिक १८ गते बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ मै दिउँसो २:१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् ।

यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ ।

देउवाले चुनावी घरदैलो भने गर्ने छैनन्। कात्तिक २० गते काठमाडौं फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ ।

डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको मत हेर्दा डडेल्धुरामा नेपाली कांग्रेस अगाडि छ ।

कांग्रेसले २१ हजार सात सय ३५ मत पाएको थियो। यस्‍तै नेकपा माओवादी केन्द्रले १२ हजार ८ सय ७८ मत ल्याएको थियो। नेकपा एमालेले भने यहाँ १० हजार चार सय ४९ मत ल्याएको थियो। नेकपा एकीकृत समाजवादीले पाँच हजार ४१ मत र नेपाली कांग्रेस बिपीले ३ हजार ६ सय ४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सय १४ र जनता समाजवादी पार्टीले १ सय ५६ मत पाएका थिए । यहाँ सत्ता गठबन्धन एमाले नेतृत्वको गठबन्धनभन्दा धेरै मतान्तरले अगाडि देखिन्छ ।

देउवाले बुधबार कैलाली पुगेर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनाव शान्तिपूर्ण वातावरणमा हुने बताएका थिए। उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारका पक्षमा मत दिन आग्रह गरेका थिए ।

एक्लाएक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने भएकोले दलहरू गठबन्धन गरेर चुनाव लड्नुपरेको पनि देउवाको भनाइ थियो। उनले अबको चुनावपछि राजनीतिक स्थिरतातर्फ देश जाने पनि बताएका थिए भने संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणका लागि मंसिर ४ को चुनाव महत्वपूर्ण रहेको देउवाको भनाइ थियो ।

-setopati

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.