
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्ध सुधारको प्रयासस्वरूप उनीहरूको भेटवार्ता भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

रुस युक्रेन द्वन्द्वमा फरक धारणा राख्ने र विश्व राजनीतिमा एकअर्काका प्रतिस्पर्धी मुलुकका नेतृत्वबीच जी-२० सम्मेलनअघि इन्डोनेसियामा उनीहरूको भेट भएको हो ।
सेमिकण्डकटरमा लगाएको प्रतिबन्ध तथा ताइवानमा अमेरिकी नीतिका कारण दुई मुलुकबीचको सम्बन्ध थप चिसिएको छ ।
भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् ।
चीनसँग सम्बन्ध सुधारका लागि आफू तयार रहेको बाइडेनको भनाइ छ ।
‘विश्वका समस्या समाधानका लागि चीन र अमेरिकाबीच आपसी सहकार्यको आवश्यकता छ’, बाइडेनले भनेका छन्, ‘म चाहन्छु हाम्रा मतभेदको व्यवस्थापन होस् र हामीबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् ।’
बाइडेनले समकक्षी सीसँग इमान्दार संवादका लागि आफू तयार रहेको भन्दै अवसरका लागि धन्यवाद पनि दिएका छन् ।
‘हामीबीच नियमित आपसी संवाद जरूरी छ। म यो अवसरका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।

यस्तै, चीनका राष्ट्रपति सीले अमेरिकी समकक्षी बाइडेनलाई दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू पनि रहेको बताएका छन् ।
दुई मुलुकबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा सीले राखेका छन् ।
‘अमेरिका र चीनबीचको स्थिर सम्बन्धको लाभ दुई मुलुकलाई मात्रै नभएर विश्वलाई नै पुग्नेछ। म दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि सहकार्य गर्न तयार छु,’ सीले भनेका छन् ।
सन् २०११ मा सी र बाइडेन दुबैले उपराष्ट्रपतिको हैसियतमा चीनको छेन्दुमा भेट गरेका थिए ।
त्यसयता उनीहरूबीच टेलिफोन तथा भिडिओ कन्फ्रेन्समार्फत् संवाद भएका थिए ।
बाइडेन राष्ट्रपति भएपछि पाँचपटक सीसँग भर्चुअल संवाद गरेका थिए। बाइडेन राष्ट्रपति भएपछि सी र उनीबीच पहिलोपटक भौतिक रूपमा संवाद भएको हो। भर्चुअल संवादमा सीले ताइवानमा अनावश्यक हस्तक्षेप नगर्न बाइडेनलाई चेतावनी दिँदै आएका थिए ।
‘आपसी सहकार्य गरे दुबै मुलुकलाई हित छ। अनावश्यक हस्तक्षेपमार्फत् द्वन्द्व निम्त्याउन खोजे दुबैका लागि घातक छ,’ सीले गत वर्ष फेब्रुअरी १० मा बाइडेनलाई भनेका थिए ।
अमेरिकाले गत अगस्टमा चीनमा सेमिकन्डकटर निर्यातमा प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको सम्बन्ध थप तिक्ततामा परिणत भएको छ ।
दुबै मुलुकका राष्ट्रपतिले आपसी सहकार्यका लागि तयार भएको भन्दै निकैबेर हात मिलाउँदै राम्रो हाउभाउ प्रस्तुत गरेका छन् ।

