
अछाम ३ जेठः
सहकारी व्यवस्थापन तथा क्षमता विकास सम्वन्धि ३ दिने तालिम मंगलसेनमा सुरु भएको छ । मंगलसेन नगरपालिकाको आयोजनामा तालिम संचालन गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । तालिम उदघाटन गर्दै नगर प्रमुख बोहराले सहकारीहरु प्रभावकारी रुपमा संचालन भएमात्रै राज्यको ३ खम्वे अर्थनीति सफल हुने बताउनुभयो । मंगलसेन नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुले सदस्य केन्द्रित गतिविधिहरुलाई प्राथमिकता दिई समुदाय र सदस्यको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सहभागीलाई तालिममा सक्रिय रुपमा सहभागी भई ज्ञान लिन र व्यवहारिक जीवनमा कार्यान्वयन गर्न उहाँको आग्रह छ ।

उदघाटन कार्यक्रममा जिला वचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगरपालिका सहकारी शाखा प्रमुख बिष्णु प्रसाद जैशीले तालिमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने उदघाटन समारोहको संचालन नगरपालिकाका प्रशासन सहायक होम साउदले गर्नुभएको थियो ।
नगरपालिकाको नियामक क्षेत्राधिकार भीत्रका १५ वटा सक्रिय सहकारी संस्थाका एक/एक जना व्यवस्थापक र संचालकको सहभागीता रहेको तालिम जेठ ५ गतेसम्म संचालन हुने छ । तालिमको सहजिकरण सहकारी प्रशिक्षक बम बहादुर बिसी, बिष्णु प्रसाद जैशी र होम साउदले गरिरहनुभएको छ ।
मंगलसेन नगरपालिकाले केहि दिन अघि (वैशाख ३१ गते) मात्र सहकारी संस्थाहरुको प्रवर्द्धनका विषयमा सहकारी संस्था, सहकारी कर्मी, जनप्रतिनिधि र सरोकारविच वृहत अन्तरक्रिया संचालन गरि कार्ययोजना तयार गरिएको थियो । सोहि कार्ययोजना अनुसार सहकारी व्यवस्थापन र क्षमता विकास तालिम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
