डडेल्धुरामा पहिलोपटक टर्की पालन गर्दै सुरेश

हरिश चन्द, डडेल्धुरा:


युवाको लहर विदेशतिर बढीरहेका बेला डडेल्धुका एक युवाले भने गाउँमै नयाँ व्यवसायको थालनी गरेका छन्। अमरगढी नगरपालिका मोरोडाका सुरेश भण्डारीले जिल्लामै पहिलोपटक टर्की जातको पंक्षी पालन गरेका हुन्। गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका भण्डारीले डेढ वर्षअघि धनगढीबाट १५० वटा चल्ला ल्याएर टर्की पाल्न सुरू गरेका हुन्।
एक वर्षयता दुई लाख रुपैयाँभन्दा बढीको टर्की र चल्ला बिक्री गरेको उनले बताए। भर्खरै जन्मेको टर्कीको चल्लाको मूल्य ३ सयदेखि ४ सय रुपैयाँ तथा एक महिना पाल्दा एक हजार ५०० रुपैयाँ पर्छ। भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सातदेखि ८ किलोग्राम तौलको हुन्छ। एक किलो टर्कीको मासुको मूल्य ८ सय रुपैयाँ पर्छ।
चार महिनामा चल्ला दिन सुरू गर्ने टर्की ६ देखि ९ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ। सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालन सम्बन्धी जानकारी पाएपछि उनी यसतर्फ आकर्षित भएको बताउँछन्। एक सय ५० वटा चल्ला ल्याएर केही बिक्रि गरेको र केही बचत रहेको सुरेश बहादुर भण्डारीले बताए।
एक वर्षमा पूर्ण रूपले तयार हुने पंक्षी टर्कीलाई उनी कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्छन्। उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ। टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ।
यस्तै अण्डा उत्पादनका लागि ५० लेयर्स जातका कुखुरा पालन गर्दै आएका भण्डारीले टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकिनी, घाँटीखुइले र उल्टे जातका कुखुरापालन गर्ने योजना बनाएका छन्।
-dineshkhabar

