मंगलसेन नगरपालिकाले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्दै
योजनाको अन्तिम मस्यौदा तयार पारि प्रस्तुतीकरण गरियो

होम साउद, अछाम १ असारः
मंगलसेन नगरपालिकाले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा वाक नेपालको सहजिकरणमा नगरपालिकाको योजनाको मस्यौदा तयार पारि प्रस्तुतिकरण गरिएको हो ।
नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको नगरपालिका विपद पूर्वतयारी तथा प्रतिकार्य योजना मस्यौदा प्रस्तुतीकरण कार्यक्रममा प्रस्तावित योजनाको मस्यौदाका विषयमा बृहत छलफल गरिएको छ । योजनामा समावेश गरिएका विषयहरु र थप गर्नुपर्ने विषयका बारेमा जनप्रतिनिधि, शाखा प्रमुखहरु र सरोकारवालाविच छलफल गरिएको थियो ।

छलफलका क्रममा योजना किताव प्रकाशन पूर्व छुटेका विषयवस्तु समावेश गर्न तथा भाषिक सम्पादन सहित अन्तिम रुप दिन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको छ । योजना निर्माणका लागि यसअघि प्रारम्भिक बैठक, जनप्रतिनिधिहरु संग अभिमुखिकरण र तथ्यंक संकलन गरिएको थियो ।
अभिमुखिकरणमा बोल्दै नगरप्रमुख पदमबहादुरबोहराले नगरपालिकामा बन्न लागेको यस योजनाले नगर स्तरमा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि एक महत्वपूर्ण औजारको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा यस योजनालाई विपद व्यवस्थापनका क्षेत्रमा मार्गदर्शनका रुपमा लिइने उहाँले वताउनुभयो । योजना निर्माणमा सहयोग गर्ने साझेदार संस्थालाई धन्यवाद दिदै नगर प्रमुख बोहराले छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा लगिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेुन्द्र बहादुर सोडारी, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सबै विषयगत शाखाका प्रमुखहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण जे के इञ्जिनियरिङ एसोसियसनका खेम प्रसाद भट्टराईले गर्नुभएको थियो भने संचालन नरेश बहादुर कठायतले गर्नुभएको थियो ।
