मंगलसेनका विद्यालय आजबाट संचालन

अछाम २७ भदौ ।

अछामको मंगलसेन नगरपालिकाले विद्यालय संचालनको निर्णय गरेसंगै आईतबार (आज) बाट पठनपाठन कार्य संचालन भएको छ । नगर क्षेत्र भीत्रका सबै सामुदायीक तथा निजी विद्यालयहरुमा स्वास्थ्यका सबै मापदण्ड पालना गराउदै पढाई संचालन गरिएको हो ।
मंगलसेन नगर कार्यपालिकाको यहि भदौ २५ मा बसेको बैठकले विद्यालय संचालन ढाँचा -२०७७ अनुसार विद्यालय संचालन गर्ने निर्णय गरेसंगै नगरपालिका कार्यालयले तोकेका स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववत रुपमा विद्यालय संचालनका लागि सूचना जारी गरेको थियो । सदरमुकाम स्थित षोडशा माविका प्रधानाध्यापक मदन कुवरले आफुहरुले नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन संग समन्वय गरि यसअघि आलोपालो पढाई संचालन गरिरहेको बताउनुभयो । “हामीले ३ हप्तासम्म टोलशिक्षा सञ्चालन गर्यौं, त्यसपश्चात विद्यालयमै बोलायर आलोपालो पढाई गरिरहेका थियौं” उहाँले भन्नुभयो ‘अब नगरपालिकाको निर्णय अनुसार आजबाट औपचारीक रुपमै सबै स्वास्थ्य मापदण्ड अपनायर विद्यालय संचालन गरेका छौं ।’


कोरोना भाईरस (कोभीड -१९ ) का कारण लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुलाई सबैभन्दा बढी मार परेको थियो । कोरोनाको संक्रमण पनि कम हुदै गईरहेको अवस्थामा सरोकारवाला पक्षसंगको परामर्शमा सबैखाले स्वास्थ्य मापदण्ड अपनाई विद्यालयहरुमा पठन पाठन संचालन गर्ने निर्णय गरिएको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
नगरपालिका स्तरीय प्रधानाध्यापकहरुको बैठकले पनि यसअघि टोलशिक्षाका रुपमा पालैपालो पठनपाठन गराउने निर्णय गरेको थियो । आफुहरुले २ हप्ता सम्म टोल शिक्षा संचालन गरेको र अव नगरको निर्णय अनुसार भौतिक उपस्थितिमै पठन पाठन सुरु गरेको कालिका आधारभूत विद्यालय वडानम्वर १२, बिर्कुका प्रधानाध्यापक पूर्ण बहादुर रावलको भनाई छ ।
मंगलसेन नगरपालिका भीत्र जम्मा ४९ वटा सामुदायीक विद्यालय, ७ वटा निजी विद्यालय र ६० वटा बालविकास केन्द्र रहेका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र बिष्टले बताउनुभयो । कोरोना भाईरसको कारण शैक्षीक क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

