पेरुका क्रान्तिकारी नेता गुज्मनको निधन
एजेन्सीः
पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन भएको छ । उनी पेरुको क्रान्तिकारी समूह शाइनिङ्ग पाथका नेता तथा संस्थापक हुन् ।
दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुज्मनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनले सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए ।
गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनलाई उच्च सुरक्षाको जेलबाट अस्पताल लगिएको थियो ।
पेरुमा एक दशक भन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबिच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएको वा बेपत्ता भएका थिए ।
गुज्मन पक्राउ परेपछि शाइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि सो समूहका केही सदस्यहरु सक्रिय छन् । गज्मनको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो ।
आमाको निधन भएपछि उनलाई एक धनी व्यक्तिले हुर्काएका थिए । हुर्किने क्रममा उनले सबै सुविधा पाएका थिए । विश्वविद्यालयमा रहँदा उनी मार्क्सको सिद्धान्तमा आकर्षित भए । सन् १९६२ उनी स्थानीय विश्वविद्यालयमा दर्शनशास्त्रको प्राध्यापक बने ।
सन् १९६५ को चीन भ्रमणको क्रममा कम्युनिष्ट नेता माओबाट उनी प्रभावित भए । सन् १९६९ मा अरु ११ जनासँग मिलेर उनले शाइनिङ्ग पाथको स्थापना गरेका थिए ।