बैतडीका थप विद्यालय खुले

बैतडी:
भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य सुरु भएको छ। जिल्लाको मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरु सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए।

Samajik New Add 2082

कक्षा कोठामा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ भने उनीहरुलाई मास्क अनिवार्य गरिएको छ । त्यसैगरी विद्यार्थीलाई विद्यालयमा पनि स्यानिटाइजर लगाउने र साबुन पानीले हात धुने व्यवस्था गरिएको स्थानीय तहहरुले जनाएका छन्।

यसअघि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन भएको छ। दश स्थानीय तह रहेको बैतडीका नौ स्थानीय तहका विद्यालय सञ्चालनमा आइसकेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले भदौ ३० गतेदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई बिग्रने भन्दै अभिभावक र शिक्षकशिक्षिकाले चिन्ता व्यक्त गरेका थिए। सोही कारण विद्यालय सञ्चालनमा ल्याइएको हो।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भएको छ। हाल यहाँ १९ जनामात्रै सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यसैबीच जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

 

-दिनेशखबरबाट

Leave A Reply

Your email address will not be published.